Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहाकाली नगरपालिकाको सरकारी सवारीमा व्यापारीको सामान ढुवानी

महाकाली नगरपालिकाको सरकारी सवारीमा व्यापारीको सामान ढुवानी


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २६
अहिले कोभिड–१९ को संक्रमणले विश्व आक्रान्त बनाएको छ । दक्षिण एसियाका नेपाल, भारतलगायतका मुलुकमा कोरोना रोकथामका लागि लकडाउन गरिएको छ । संसारभरको मानव जगत कोरोना भाइरसबाट कसरी बाँच्ने भन्ने चिन्तामा छन्, सरकारले आफ्ना नागरिक कसरी सुरक्षित पार्ने रणनीतिमा जुटिरहेका बेला कञ्चनपुरका केही स्थानीय सरकार कोरोनाबाट कसरी जनताको सुरक्षा गर्नेभन्दा पनि व्यापारीको कारोबार वृद्धि गर्न लागि परेका छन् ।

महाकाली नगरपालिकाले स्थानीय नागरिकका दैनिक समस्याभन्दा व्यापारीको समस्या प्राथमिकतामा राख्दै व्यावसायिक सामान ढुवानीका लागि टिप्पर प्रयोग गरेको पाइएको छ । महाकाली नगरपालिले केही व्यवसायीलाई सामान ढुवानीका लागि गाडी र कर्मचारी उपलब्ध गराएको हो । बुधबार नगरपालिकाको म १ ग २६ नम्बरको टिप्परमा तीन व्यवसायीका सामान ढुवानी गरेको पाइएको हो । उक्त सवारी साधनमा खाद्यान्नभन्दा पनि किराना पसलका सामान ढुवानी गरिएको थियो ।

नगरपालिका स्रोतका अनुसार बच्चाले खाने पदार्थदेखि मलखादसम्म ढुवानी गरिएको थियो । नमकिन, चाउचाउ, बिस्कुट, स्याम्पु, लककेट, कुरमुरे, लगायतका व्यावसायिक सामान ढुवानी गरिएको छ । नगरपालिकाको सामान र किसानका लागि भन्दा पनि नितान्त केही व्यवसायीको सामान भएको नगरपालिका स्रोतले बताएको छ । ‘न नगरपालिकाको सामान न किशानको हो नितान्त केही व्यवसायीको सामान ढुवानी गरिएको छ’, नगरपालिका स्रोतले भन्यो, ‘यतिसम्म कि नगरपालिकाले व्यापारीको सामान ढुवानीका लागि कर्मचारीसमेत प्रयोग गरेका छन् ।’

महामारीमा बेला किसान, नगरपालिकाभन्दा कारोबार गर्ने पैसा कमाउने पहुँचवाला व्यवसायीको सामान ढुवानी गरेपछि नगरपालिकाभित्र नेतृत्वको कटाक्ष चलिरहेको छ भने नगरकै व्यवसायीहरूले पनि उक्त कार्यको विरोध गरेका छन् । केहीलाई काखा केहीलाई पाखा लगाएर नगरपालिकाले सवारी साधन दुरूपयोग गरेको व्यवसायीको आक्रोश छ । ‘पहुँच र शक्ति हुनेहरूले सरकारी साधनको जसरी पनि दुरूपयोग गर्न सकिँदोरहेछ, ‘नगरपालिका स्रोतले भन्यो, ‘किसानका लागि खेतिपातीका सामान ढुवानी गरेको भए पनि जस त पाइन्थ्यो ।’ नगरपालिका स्रोतका अनुसार व्यवसायीको सामान ढुवानीका लागि सरकारी साधन प्रयोग भएपछि बाटोमा कुनै अवरोध नआउने भएकाले व्यवसायीले यस्तो जुक्ति प्रयोग गरेको हो । महाकाली नगरपालिकाले भने किसानको अनुरोधमा सामान ल्याएको जनाएको छ ।

महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले लकडाउनका बेला खाली थन्किएका सवारी साधनलाई भाडामा लगाएको बताए । ‘हाम्रो नगरमा खाद्यान्नलगायतका थुप्रै दैनिक उपभोग्य सामानको अभाव भएको छ’, नगरप्रमुख सुनारले भने, ‘सामान ल्याउन भारत जान मिल्दैन, नेपालबाट ल्याउन हामीले टिप्पर भाडामा लगाएका हौँ, उनीहरूले अग्रीम पैशा जम्मा गरेका छन् ।’ व्यवसायीको सामान ढुवानी नगरेको दाबी गर्दैै नगरप्रमुख सुनारले खाद्यान्न, मलखादलगायत अत्यावश्यक सामान मात्रै ढुवानी गरेको बताए ।

हाल नगरपालिकाकासँग रहेका एउटा ट्याक्टर र दुईवटा टिप्परलाई राहतको सामान ल्याउने गरेको र खाली समयमा नगरपालिकाले राजस्व लिएर व्यापारीलाई खाद्य सामग्री तथा कृषि सामग्री ल्याउन व्यावहारिकरूपमा मिलाएर सवारी साधन भाडामा लगाएको बताए । उनले उक्त सवारीहरू मेयर उपमेयर वा आफन्तको सामान नभई स्थानीय जनताको मागअनुरूप व्यावहारिक मिलाएर अनौपचारिकरूपमा बोकिएको नगरप्रमुख सुनारले बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विकास निर्माणका ४३ योजना कार्यान्वयनका लागि अनुमति दिएकै समयमा विकास निर्माणको काममा प्रयोग हुनुपर्ने उक्त सरकारी सवारी साधन व्यावसायिक सामानमा दुरूपयोग भएपछि स्थानीयले समेत विरोध गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सरकारी सवारी साधन भाडाँमा दिनै नमिल्ने बताए । ‘विशेष परिस्थितिमा अनौपचारिक निर्णय गरेर ढुवानीमा प्रयोग गरेको भए, त्यसमा हामीले भन्नुकेही छैन, ‘प्रजिअ खतिवडाले भने, ‘निर्णयविनै आफूखुसी सरकारी सवारी साधन सामान ढुवानी गर्न पाइँदैन् ।’

लकडाउनका बेला सरकारी सवारी साधन व्यक्ति व्यवसायीले कारोबार गर्ने हिसाबले नगरपालिकाले दुरूपयोग गरेपछि स्थानीय एव राजनीतिक दलले समेत विरोध गरेका छन् । लकडाउनका बेला सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने भनिएपछि महाकाली नगरपालिका व्यवसायीका सामान ढुवानी गर्न थालेपछि नगरपालिका नै लकडाउन उल्लंघनमा सक्रिय रहेको समेत केही स्थानीयको बुझाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया