Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न महासंघको आग्रह

सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न महासंघको आग्रह


काठमाडौं, जेठ ५
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् रहेको भन्दै सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न आग्रह गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक निकायहरुले अहिलेको विषम परिस्थितिमा आफू खुसी आफ्ना नजिकका व्यवसायीहरुलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् राखेको जनाएको छ ।

सरोकारवाला निकायसमक्ष पटक–पटक ताकेता गर्दा समेत त्यसको विपरीत अति आवश्यक र कोेभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सार्वजनिक निकायहरुले अझै स्थगित नगरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनका कारण निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले यसअघि जारी भएका पासहरु रद्द भई स्थानीय तहहरुले समेत आफ्ना क्षेत्रहरुभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ । बैंक ग्यारेन्टीलगायतका कागजात तयार गर्न समेत व्यवसायीहरुलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमतासहित बैंक सञ्चालनमा नभएकोले ती बोलपत्रहरुमा निर्माण व्यवसायीहरु सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने ठहर गरेको छ ।

लकडाउनको समयमा समेत अति आवश्यक सेवा र कोभिड १९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरुमध्ये आह्वान भइसकेका बोलपत्रहरुको लकडाउन खुलेको मितिले ७ दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ । अब उप्रान्त आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय–पत्र, सिलबन्दी दरभाउ–पत्र लगायतका खरिद प्रक्रियाहरु हाललाई स्थगित गर्न पनि महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरुसँग आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया