Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित नगरेको प्रति महासंघको आपत्ति

सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित नगरेको प्रति महासंघको आपत्ति


काठमाडौं, जेठ ८
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु धमाधम भइरहेको भन्दै आपत्ति जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायसमक्ष पटक–पटक ताकेता गर्दा समेत त्यसविपरीत अति आवश्यक र कोेभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सार्वजनिक निकायहरुले अझै स्थगित नगरेको जनाएको छ ।

‘अहिलेको विषम परिस्थितिमा आफूखुसी आफ्ना नजिकका व्यवसायीहरुलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् राखेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघका महासचिव रोशन दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले यसअघि जारी भएका पासहरु रद्द भई स्थानीय तहहरुले समेत आफ्ना क्षेत्रहरुभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ । बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न समेत व्यवसायीहरुलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमतासहित बैंक सञ्चालनमा नभएकोले ती बोलपत्रहरुमा निर्माण व्यवसायीहरु सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने ठहर गरेको छ ।

लकडाउनको समयमा समेत अति आवश्यक सेवा र कोभिड १९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरुमध्ये आह्वान भइसकेका बोलपत्रहरुको लकडाउन खुलेको मितिले ७ दिन पछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ । अब उप्रान्त आह्वान हुने सम्पूर्ण बोलपत्र, आशयपत्र, सिलबन्दी दरभाउपत्र लगायतका खरिद प्रक्रियाहरु हाललाई स्थगित गर्न पनि महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरुसमक्ष पुनः अनुरोध गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया