Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआगामी वर्ष फोरजी सेवा देशव्यापी विस्तार गरिने

आगामी वर्ष फोरजी सेवा देशव्यापी विस्तार गरिने


काठमाडौं, जेठ १६
सरकारले आगामी वर्ष देशभर फोर जी सेवा विस्तार गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरी डिजिटल प्रविधिको माध्यमबाट विश्व अर्थतन्त्रमा आबद्ध हुँदै त्यसबाट सिर्जना हुने आर्थिक अवसरको उपयोग गरिने बताए । सूचना प्रविधि, दूरसञ्चार र विद्यमान ब्रोडव्याण्ड नीति परिमार्जन गर्दै फाइबर टु होम प्रविधिबाट स्तरीय र भरपर्दो ब्रोडव्याण्ड इन्टरनेट सेवा २ वर्षभित्र सबै स्थानमा पु-याइने बजेटमा उल्लेख छ ।

यसैगरिसूचना प्रविधिमा आधारित उद्योग व्यवसायको प्रवद्र्धन गर्न ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापनाको कार्य अगाडि बढाइने उनले बताए । सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने कार्यलाई निरन्तरता दिइने तथा नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रसारण गरिने बजेटमा उल्लेख छ । पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन तथा पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितका कार्यमा उपयोग गरिने अर्थमन्त्री खतिवडाले बताए ।

सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ।सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउनुको साथै साइवर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइवर सुरक्षा छरितो र भरपर्दो बनाउन साइवर फोरोन्सिक ल्यावको स्तरोन्नति गरिने अर्थमन्त्री खतिवडाले बताए । साइवर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।

सुरक्षण मुद्रण स्थापनाको लागि पूर्वाधार तथा उपकरणको व्यवस्था गरी व्यावसायिक सम्भाव्यताको आधारमा नेपालको आफ्नै स्याटलाइट सञ्चालन गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री खतिवडाले बताए । प्रदेश सरकारको समन्वयमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र भाषा संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने गरी चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिने तथा प्रत्येक प्रदेशमा फिल्म छायाँकनस्थल निर्माण गर्न, चलचित्र कलाकार संघको भवन निर्माण गर्न तथा नेपाली चलचित्रको सुरक्षित भण्डारणका लागि चलचित्र विकास बोर्डलाई बजेट विनियोजन गरेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा नवीकरण गर्न छुट भएका सामुदायिक, निजी तथा सहकारी क्षेत्रबाट सञ्चालित प्रसारण संस्थाले २०७७ पौष महिनासम्म इजाजत नवीकरण गर्दा लाग्ने थप शुल्क र जरिवाना छुट दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले बताए । यसैगरि हुलाक प्रणालीको पुनर्संरचना गर्दै हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गरिने भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया