Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री महासेठ

निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री महासेठ


काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल तयारी पोसाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले सरकार र निजी क्षेत्रका बीच सहकार्यविना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता जनाएका हुन् ।

सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उनको भनाइ थियो । मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार त्यसतर्फ केन्द्रित भएको बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताएका थिए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए । निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने उनले बताए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता जनाए । यस्तै, उनले तयारी पोसाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिए । प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवम् सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोसाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए ।

प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोसाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न पनि उनले आग्रह गरे । नेपाल तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोसाक उद्योगलाई प्रवर्द्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोसाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान गरिएको थियो । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले एक अर्ब १७ करोड रुपैयाँ, नेपाल फेसन प्रालिले ६६ करोड रुपैयाँ र पल्स फेसन सोलुसन प्रालिले ४३ करोड रुपैयाँ बराबरको तयारी पोसाक निर्यात गरेको थियो । यस्तै, कार्यक्रममा सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवम् सदस्यलाई समेत सम्मान गरिएको थियो । सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोसाक उद्योगी आबद्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया