Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा हुने

१७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा हुने


काठमाडौं । नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाखमा राजधानीमा हुने भएको छ । औद्योगिक प्रदर्शनीको १७औँ शृङ्खला वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष औद्योगिक व्यापार मेला आयोजना गर्दै आएको छ । ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ मेला आयोजना हुने महासंघले जनाएको छ ।

मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए । प्रदर्शनीमा नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजीजस्ता अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव सञ्चालन हुनेछन् ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सय ५० वटा स्टल रहने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए । महासंघको आयोजनामा हुने प्रदर्शनीको सह–आयोजकको रूपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत रहेका छन् । यस्तै, विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यावसायिक संघसंस्थासँगको सहकार्यमा मेला आयोजना हुने महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया