Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदेशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या


काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकले तीन अर्ब रुपैयाँ भुक्तानी नगरेपछि भारतीय कम्पनीले नेपालतर्फ बिक्री गरेको ब्यान्डविथ काटिदिएको छ । यही कारण बिहीबार दिउँसोदेखि देशभर इन्टरनेट सेवामा समस्या आएको छ । नेपाल टेलिकमसँग सम्बन्धित इन्टरनेट सेवामा भने कुनै समस्या छैन ।

वल्र्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको सेवा अवरुद्ध भएको हो । निजी इन्टरनेट सेवा प्रदायकहरूले एक वर्षदेखि शुल्क नतिरेपछि भारतीय कम्पनीले लाइन काटिदिएको हो । सरकारले सूचना प्रविधि र सञ्चार दिवस मनाइरहदा निजी कम्पनीहरूको इन्टरनेट सेवा काटिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले सरकारले विदेशी मुद्रा सटही नदिएपछि भारतमा भुक्तानी पठाउन नसकेको बताउँदै आएका छन् । तर, सरकारले इन्टरनेट सेवा प्रदायक निजी कम्पनीहरूले उपभोक्ताबाट अग्रीमरूपमा संकलन गरेको महसुलबाट कानुनबमोजिम राज्यलाई तिर्न÷बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क र रोयल्टी रकम समयमा नबुझएकाले विदेशी मुद्रा सटही सुविधा दिएको छैन । मन्त्रालयको सिफारिसविना नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै तिर्नुपर्ने रकम छिटो बुझाई सेवा सुचारु गर्न आग्रह गरेको छ । मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार तिर्नु÷बुझाउनु पर्ने शुल्क बुझाएका सेवा प्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकबाट अग्रीमरूपमा महसुल लिनेगरेको, यसरी लिएको महसुलबाट वार्षिका आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कुल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ । राज्यलाई बुझाउनुपर्ने शुल्क नबुझाई विदेशी मुद्रा सटही माग्ने इन्टरनेट सेवा प्रदायकहरूले एक साताअघि कुनै पनि बेला इन्टरनेट सेवा काटिन सक्ने भन्दै चेतावनी दिएका थिए । उनीहरूले मर्मतसम्भारको नाममा सरकारलाई कुनै रोयल्टी बुझाउन बाँकी नभएको बताउँदै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर इन्टरनेट प्रयोगकर्ता ग्राहक ९१ लाख छन् । तीमध्ये आठ लाख ८६ हजार नेपाल टेलिकमका ग्राहक हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया