Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण

मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको औद्योगिक प्रदर्शनी वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी छ । प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरूले निकै मन पराएको पाइएको आयोजकले जनाएको छ ।

काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरू, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघसंस्थाहरू, वैकल्पिक÷नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिएको छ । यसैगरी तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष महोत्सव गर्दै आएको छ । प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको छ । प्रदर्शनीमा दुई सय ५० वटा स्टलको व्यवस्था रहेको छ भने दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै, सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया