Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग तथा व्यवसायमा करिब पाँच खर्ब विदेशी लगानी प्रतिबद्धता

उद्योग तथा व्यवसायमा करिब पाँच खर्ब विदेशी लगानी प्रतिबद्धता


काठमाडौं । विदेशी लगानीकर्ताहरूले हालसम्म छ हजारभन्दा बढी उद्योग तथा व्यवसाय स्थापनाका लागि झण्डै पाँच खर्ब लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका अनुसार २०८१ जेठ ६ गतेसम्म छ हजार एक सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापनाका लागि विदेशी लगानीकर्ताहरूले चार खर्ब ९१ अर्ब ३५ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता तीन लाख २७ हजार तीन सय ३२ जनालाई रोजगारी दिनेगरी आएको हो ।

मासिक करोडौँ रकम लगानी प्रतिबद्धतास्वरूप आउने हुँदा रकम धेरै देखिएको विभागका अधिकारीहरू बताउँछन् । विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्ने व्यवस्थाका कारण प्रतिबद्धता रकम अर्बौँ देखिएको विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताएका छन् ।

निर्देशक धामीले लगानी प्रतिबद्धता आउनु सुखद पक्ष भए पनि भित्रिने रकम भने कम हुँदा कमजोरी देखिने बताए । ‘लगानीकर्ताले उद्योग तथा व्यवसाय सञ्चालन गर्नका लागि जुनसुकै मुलुकमा सर्वप्रथम लगानी प्रतिबद्धता जनाउँछन्, त्यसपछि मात्र लगानी रकम भित्र्याउने वा नभित्र्याउने निर्णय गर्ने हुँदा प्रतिबद्धता रकम आउँदैमा उद्योग तथा व्यवसाय सञ्चालनमा आउँछ भन्ने होइन’, निर्देशक धामीले भने, ‘हामीले लगानी प्रतिबद्धतासँगै लगानी रकम भित्र्याउनु अहिलेको आवश्यकता हो, यसमा विशेष ध्यान दिनु आवश्यक छ ।’

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा तीन सय सातवटा उद्योग तथा व्यवसायका लागि ४१ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सो लगानी प्रतिबद्धता १७ हजार दुई सय ३४ जनालाई रोजगारी प्रस्तावसहित आएको हो । उक्त लगानी प्रतिबद्धतामध्ये एक सय ४४ वटा पर्यटन, एक सय तीनवटा सेवा, ३४ वटा उत्पादन, नौवटा सूचना प्रविधि, सातवटा पूर्वाधार, सातवटा कृषि तथा वन पैदावर, दुईवटा खनिज र एउटा ऊर्जा उद्योग तथा व्यवसायका लागि आएको हो । तीमध्ये दुई सय ९० वटा साना, १३ वटा मझौला र चारवटा ठूला उद्योग तथा व्यवसाय स्थापना गर्ने उद्देश्य लगानीकर्ताको छ ।

चालू आर्थिक वर्षको वैशाखमा मात्रै ३८ वटा उद्योग तथा व्यवसायका लागि ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता एक हजार सात सय ३४ जनालाई रोजगारी प्रस्तावसहित आएको हो । उक्त लगानी प्रतिबद्धतामध्ये २२ वटा पर्यटन, १० वटा सेवा, दुईवटा उत्पादन, एउटा पूर्वाधार, दुईवटा कृषि तथा वन पैदावर र एउटा ऊर्जा उद्योग तथा व्यवसायका लागि आएको हो । तीमध्ये दुई सय ३७ वटा साना र एउटा ठूला उद्योग तथा व्यवसाय स्थापना गर्ने उद्देश्य लगानीकर्ताको छ ।

सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीतिस्वरूप पछिल्लो समय स्वचालित मार्गबाट विदेशी लगानी ल्याउनसक्ने व्यवस्था गरेको छ । यसका लागि सरकारले उद्योग तथा व्यवसायको क्षेत्र समेत निर्धारण गरेको छ । जसमा उद्योग तथा व्यवसायको छवटा क्षेत्रभित्र ६० वटा क्षेत्रहरू समावेश गरिएको छ । जसअनुरूप हाल ऊर्जामा चारवटा, कृषि तथा वन पैदावरमा ११ वटा, पूर्वाधारमा पाँचवटा, पर्यटनमा तीनवटा, सूचना प्रविधिमा नौवटा, सेवामा नौवटा र सबैभन्दा धेरै उत्पादनमूलकमा १९ वटा उद्योग तथा व्यवसाय तोकिएको छ ।

सरकारी प्रतिवेदनका अनुसार नेपालमा आउने विदेशी लगानीमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आयरल्यान्डलगायतका मुलुक रहेका छन् । साथै सिगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुक रहेको छ । समीक्षा अवधिमा पनि भारत, चीनलगायतका मुलुकबाट बढी लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धतालाई हेर्दा निराशा हुन नपर्ने विभागका अधिकारीहरू बताउँछन् ।

निर्देशक धामीले विभिन्न मुलुकका लगानीकर्ताले सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) र उद्योग प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) सहित लगानी प्रतिबद्धता जनाउने गरेको बताए । उनका अनुसार पहिला स्थापना भएका उद्योग तथा नयाँ उद्योगमा विदेशी लगानीकर्ताले लगानी अथवा सेयर खरिद सम्झौता तथा साझेदारी गर्ने हुँदा एसपीए, एसएसए र टीटीए सम्झौतासहितका लगानी आउने गरेका छन् । जसले लगानी रकम भित्रिने विषयको सुनिश्चितता समेत गर्दछ । विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ ।

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–२०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x