Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदर्ता नभएका र कर नतिर्ने फर्निचर उद्योगलाई नियमनको दायरामा ल्याउन आग्रह

दर्ता नभएका र कर नतिर्ने फर्निचर उद्योगलाई नियमनको दायरामा ल्याउन आग्रह


काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले शनिबार र आइतबार राजधानीमा आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा सहभागीहरूले फर्निचर उद्योगलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए । दर्ता नभएका र कर नतिर्ने उद्योगलाई राज्यले नियमनको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । यसैगरी दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भूतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको उनको आरोप छ । यस्तै, उनले देशको ४५ प्रतिशत क्षेत्रमा वनजङ्गल रहे पनि त्यहाँबाट उत्पादित काठको व्यावसायीकरण हुन नसकेको बताए । ‘यही ४५ प्रतिशत वनबाट हामीले चाहेजति उत्पादन तयार गर्दै वृक्षारोपणबाट वनको क्षेत्र घट्न नदिनेगरी व्यावसायिकताको भरपुर सदुपयोग गराउन पहलकदमी लिनुपर्ने बेला भएको छ’, उनले भने, ‘त्यसो नगरेको खण्डमा अहिलेको हाम्रो सम्भावना गुम्छ ।’

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्यस्तरबाट यसको संरक्षण र संवद्र्धनमा पहल नभएको गुनासो गरे । उधारो कारोबारले उत्पन्न समस्या भयावह भन्दै गएको भन्दै उनले यो विषयलाई व्यावसायिक सुरक्षा ऐनमा समेट्नुपर्ने बताए । बिलविजकअनुसार एकै पटकमा ढुवानी गर्नुपर्ने व्यवस्थाले ढुवानीमा समस्या भएको भन्दै उनले ढुवानी प्रक्रियालाई व्यवसायमैत्री बनाउन आग्रह गरे । सबै किसिमका उद्योग व्यवसायलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गर्दै विभेदकारी नीति हटाउन उनले माग गरे ।

महासंघका सल्लाहकार कृष्णलाल प्रधानले सरकारबाट पाउनुपर्ने सुविधाबाट फर्निचर व्यवसायीहरू बञ्चित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । नियमनको दायरामा आउन नसकेका व्यवसायीका कारण आफूहरू व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले क्षेत्रगतरूपमा कडा नियमन जरुरी रहेको बताए । महासंघका बागमती प्रदेश समन्वय समितिका अध्यक्ष शुभेन्द्र जोशीले चौतर्फी उपेक्षामा पर्दा फर्निचर व्यवसायीहरूको अवस्था दयनीय भएको गुनासो गरे । संगठित भएर अघि बढ्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै उनले सबैलाई एकजुट भएर बजारलाई स्वस्थ बनाउने अभियानमा लाग्न आग्रह गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीकी अध्यक्ष पूर्ण शोभा गुरुङले कर तिर्ने व्यवसायीलाई राज्यले दुःख दिने गर्दा दर्ता नभएका र कर नतिर्नेहरूले खुलेआम अनधिकृतरूपमा व्यवसाय गरिरहेको बताइन् । घुमन्ते व्यवसायीलाई नियमनको दायरामा ल्याउन उनले आग्रह गरिन् । यसबाट राज्यको कर बढ्नुका साथै अहिलेका वास्तविक उद्योगी व्यवसायीलाई सहज हुने उनको भनाइ थियो ।

महासंघमा आबद्ध विभिन्न जिल्लाका ३९ वटा फर्निचर व्यवसायी संघहरू प्रशिक्षण कार्यक्रममा सहभागी थिए । अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल तथा नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक विदुरचन्द्र लामिछानेले कार्यक्रमका सहभागिहरूलाई प्रशिक्षण दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x