Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअसोज पहिलो साता दशौँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

असोज पहिलो साता दशौँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने


काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघले आगामी असोज दुईदेखि पाँच गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।

राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरी आयोजकले एक्स्पोमा पहिलो पटक खुला बजार समेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेन्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशत स्टलहरू बुकिङ भएका छन् । हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रूपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाइ छ ।

एक्स्पोका संयोजक संयकमान सिंहका अनुसार पहिलो पटक एक्स्पो स्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरूले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरिने पनि उनले जानकारी दिए । संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेन्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । साथै, अनलाइन माध्यमबाट स्टल बुकिङ गर्ने व्यवस्था भएको पनि आयोजकले जनाएको छ । एक्स्पोमा एक सयभन्दा बढी स्टलहरू रहनेछन् ।

फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरूलाई समेटेर बृहत् र भव्यरूपमा आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो । पहिलोपटक भर्चुअल एक्स्पो पनि आयोजना गर्न लागिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरूलाई एउटै प्लेटफार्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।

साथै, फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउनु तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवसर पाउने अपेक्षा पनि आयोजकको छ ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा अवलोकनकर्तालाई सिनेमा टिकटका साथै आकर्षक गिफ्ट भौचर उपलब्ध गराउने आयोजकको भनाइ छ । घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुने एक्स्पोमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x