Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल घरेलु तथा साना उद्योग महासंघ ३५औं वर्षमा

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५औं वर्षमा


काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ । महासंघले ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताए । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको उनको भनाइ थियो । लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताए । लघु, घरेलु तथा साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्धता व्यक्त गर्दै उनले जुनसुकै उद्योगहरूलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्ने बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले महासंघ सात वटै प्रदेश, सबै जिल्ला, तीन सय ४१ वटा पालिकाहरूमा क्रियाशील रहेको बताए । उद्यमीहरूका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको उनले जानकारी दिए । सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाका बारेमा बजेट मौन देखिएकाले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीतिमार्फत यसको व्यवस्था गर्न उनले सरकारसँग माग गरे । देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुहरूको बजार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको निर्यात गृह स्थापनाका लागि महासंघले दिएको सुझावलाई बजेटमा नसमेटिएकाले यसलाई सुधार गरिनुपर्ने उनको भनाइ थियो ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगहरूलाई अर्थतन्त्रको इञ्जिन भनेर भने पनि व्यवहारमा देख्न नसकिएको बताए । स्थापना दिवसकै अवसरमा केन्द्रदेखि पालिकासम्म रहेका महासंघका संगठनहरूले विविध कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x