Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘निर्माण उद्योगको समस्या समाधान गर्न राज्य उदासीन’

‘निर्माण उद्योगको समस्या समाधान गर्न राज्य उदासीन’


काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एसोसिएट सदस्य समन्वय समितिको बाह्रौँ साधारण भेलामा व्यवसायीहरूले निर्माण उद्योगमा चुनौतीका चाङ रहे पनि समस्या समाधानमा राज्य उदासीन भएको बताएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले महासंघसँग विगतमा गरेका सहमति लागू नगर्नु राज्यको लाचारी भएको टिप्पणी गरे । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्नुअघि राज्यले निर्माण व्यवसायीहरूसँग कुनै सरसल्लाह नगरेको बताउँदै उनले निर्माण उद्योग चलायमान नभएकै कारण अर्थतन्त्रमा निरन्तर समस्या आइरहेको दाबी गरे । देशभरका सबै तह र तप्काका निर्माण व्यवसायीहरू एकजुट भएमा निर्माण उद्योगको समस्या समाधान गर्ने दिशामा राज्यलाई सशक्त दबाब दिन सकिने उनले बताए । भेलामा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरूलाई कर्मचारीबाट पूरै असहयोग भइरहेको आरोप लगाए । निर्माण उद्योगको महत्व कसैले बुझ्न नसकेको उनको दाबी छ ।

महासंघका पूर्व अध्यक्ष रमेश शर्माले राज्यले निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नदिँदा व्यवसायीहरूले विगतमा पाएका सहुलियत समेत अहिले कटौती गरिएको बताए । यस्तै महासंघका पूर्व अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीहरूको एकताको आवश्यकता औँल्याए । महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण उद्योग अत्यन्त कठीन मोडमा पुगेको बताउँदै क्रियाशील निर्माण व्यवसायीहरूलाई नटिकाई अरु निर्माण व्यवसायीहरूको संख्या बढाउँदै लैजानु अनुचित भएको उल्लेख गरे । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का सम्झौता विपरीत जाने निर्माण व्यवसायीलाई कारबाही हुँदा कर्मचारीले भने उन्मुक्ति पाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताए ।

यसैगरी महासंघ एसोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । भुक्तानी, मूल्य समायोजन, निर्माण व्यवसायीलाई दिनुपर्ने सहुलियत, विगतका सहमतिको पालनालगायतका कुनै पनि मुख्य विषय बजेटले सम्बोधन नगर्दा निर्माण व्यवसायीहरू निराश भएको उनको भनाइ थियो । महासंघका महासचिव रोशन दाहाल, सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वार, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका महासचिव मंगल शाही लगायतले सबै निर्माण व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

भेलामा एसोसिएट समन्वय समितिको तर्फबाट सचिव नवराज श्रेष्ठ र कोषाध्यक्ष लक्ष्मी बस्नेत कार्कीबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित भएको थियो । सोही अवसरमा एसोसिएट समन्वय समितिले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक राजदूत नियुक्त महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार रमेश शर्मालाई सम्मान गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x