Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभक्तपुरको नलिञ्चोकमा सुविधायुक्त हेलिप्याड सञ्चालन

भक्तपुरको नलिञ्चोकमा सुविधायुक्त हेलिप्याड सञ्चालन


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका–१० स्थित भक्तपुरको नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रबार उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुने बताए ।

भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रुपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गर्दै पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए ।

हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विश्वास व्यक्त गरे । उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे ।

अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेको जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको महानिर्देशक अधिकारीले बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ ।

करिब ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकारणले हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न सकिन्छ ।

हेलिप्याड उद्घाटनको अवसरमा शुक्रबार विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी हेलिकप्टरमार्फत नलिञ्चोक आएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x