Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा स्पिनिङ मिल्समा एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गर्ने

जगदम्बा स्पिनिङ मिल्समा एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गर्ने


काठमाडौं । जगदम्बा स्पिनिङ मिल्समा एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गर्नेभएको छ । जगदम्बा स्पिनिङ मिल लिमिटेडले एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्ससँग हालै विशेष लगानी सम्झौतामा हस्ताक्षर गरेको छ ।

विशेष लगानी सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा जगदम्बा स्पिनिङ मिलका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले विस्तारको सम्भावना बोकेका कम्पनीहरूको लागि निजी इक्विटी लगानीको नयाँ स्रोत रहेको बताए । यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायलाई नयाँ उचाइमा लैजान मद्दत गर्ने उनको भनाइ थियो । उनका अनुसार जगदम्बा स्पिनिङ मिल नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा रहेको छ । यस्तै दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा रहेको उनले बताए । कम्पनीले सधैँ उच्च–गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासहरूमा ध्यान केन्द्रित गरेको उनले जानकारी दिए । ‘यस लगानीले कम्पनीको वृद्धिलाई अघि बढाउन, यसको उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ’, उनले भने ।

एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । नेपालमा जगदम्बा स्पिनिङ मिल्सजस्तो अझ धेरै संस्थाहरूको आवश्यकता रहेको उनको भनाइ थियो । सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्सले धागो उत्पादन गर्नेगरेको छ । यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्ने गरेको जनाएको छ । जगदम्बा स्पिनिङ मिल्सले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उच्च गुणस्तरका सामानहरू उत्पादन गर्दै विश्वभर निर्यात गर्दै आएको छ । यस लगानीले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो उत्पादकको रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्ने जनाइएको छ । जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ । यसले कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ ।

जगदम्बा स्पिनिङ मिलले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको छ । यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ । कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ । यस्तै कम्पनीले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको छ । यस्तै एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फन्ड हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x