Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुने

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुने


काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुने भएको छ । बेलुन नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आगामी पुस १४ देखि १८ गतेसम्म नेपाल इन्टरनेसनल बेलुन फेस्टिभल हुने भएको हो ।

फेस्टिभलमा नेपालसहित ३० देशले सहभागिता जनाउने फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्म हुने फेस्टिभलको तयारी सुरु भएको बताइएको छ । संस्थाका अध्यक्ष विक्रम बाडेका अनुसार फेस्टिभलमा बेलुनमा उड्न चाहनेलाई तीन समयमा उडाएर प्राकृतिक छटासँगै हिमालको दृश्यावलोकन गराइन्छ । सनराइजका लागि बिहान, घमाइलो दृश्यावलोकनका लागि दिउँसो र सनसेटको दृश्यावलोकनका लागि बेलुका गरेर तीन समय बेलुन उडाइने उनले बताए । फेस्टिभलमा नेपालका टिपिकल संस्कृतिको प्रदर्शन तथा विभिन्न देशबाट ल्याइएका सांस्कृतिक प्रदर्शनी समेत गरिनेछ ।

कार्यक्रम स्थलमा विभिन्न खानाका परिकार, मनोरञ्जनका लागि पिङलगायतका सामग्री राखिने इभेन्ट म्यानेजर प्रतीक्षा डंगोलले जानकारी दिइन् । फेस्टिभलको पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । कार्यक्रमको समापन पुस १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने डंगोलले जानकारी दिइन् । फेस्टिभलले पोखराको पर्यटनमा छुट्टै माहोल सिर्जना गर्ने बेलुन नेपालका सञ्चालक सविन महर्जनले बताए । उनले भने, ‘अहिलेको शिथिल पर्यटन उकास्न फेस्टिभल कोशेढुंगा सावित हुनेछ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जोखिम व्यवस्थापन गरेर मात्र कार्यक्रम गर्न सुझाव दिएका छन् । उनले जोखिम बीमा गर्नतर्फ पनि सचेत गराए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर योगेन्द्र कुँवरले बेलुन फेस्टिभल पोखराका लागि राम्रो अवसर भए पनि यसमा उच्च जोखिम हुने भएकाले पर्याप्त सतर्कता अपनाउन आग्रह गरे । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलले पर्यटक आकर्षित गर्न फेस्टिभल महत्वपूर्ण हुने बताए । ‘खास गरेर खर्च गर्ने पर्यटक भित्र्याउन फेस्टिभलले मद्दत गर्छ’, उनले भने । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेस्टिभलले पोखरा महानगरको १५ लाख पर्यटक भित्र्याउने घोषणामा सघाउ पुर्याउने दाबी गरे ।

पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखरामा अन्तर्राष्ट्रियस्तरको हट एयर बलुन फेस्टिभल हुनु स्वागतयोग्य भएको बताए । उनले भने, ‘यसले पर्यटकको आगमन बढाउँछ अनि अर्थतन्त्र चलायमान गराउँछ ।’ नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले उच्च जोखिम भएको बेलुन फेस्टिभल गर्दा सुरक्षा र सतर्कता अपनाउन सुझाव दिएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x