Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुनचाँदीको भन्सार दर घटाउन सरकार तयार

सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले छिट्टै सो निर्णय गर्ने आश्वासन दिएका हुन् ।

भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी निर्णय गरिने प्रतिबद्धता जनाएका हुन् । मन्त्री पौडलसँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर छ प्रतिशत कायम गरिएको बताउँदै नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाउन माग गरे । सुनमा आठ प्रतिशत र चाँदीमा छ प्रतिशत भन्सार दर कायम गर्न माग गरे ।

बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान व्यवस्थाअनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भइरहने भएकोले कारोबारमा समस्या परेको पनि अध्यक्ष रसाइलीले बताए । प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्न पनि व्यवसायीहरुले माग गरेका छन् ।

विद्यमान सिफारिस सिस्टमलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुन आयात गर्ने व्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । बैंकमार्फत व्यवसायीका लागि दैनिक ३० किलो र उत्पादक (उद्योग) का लागि २० किलो छुट्याउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् । अध्यक्ष रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा एक वर्षको तीन सय ६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुनेगरी सिजन र अफ सिजनअनुसार मिलाई वार्षिक रुपमा तोकिएको कोटाको सिलिङभित्र रही आयात गर्ने व्यवस्था हुनुपर्ने बताए । भेटमा अर्थमन्त्रीलाई तीनैवटा महासंघको तर्फवाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गरिएको पत्र हस्तान्तरण गरेका थिए ।

व्यवसायीहरुको मागपत्रमा सुनचाँदीसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादनका निमित्त वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्वार प्रणााली बनाइनुपर्ने, धेरै बैंकहरुमार्फत सुन वितरण गर्नु झन्झट बढी हुने भएकोले केही सीमित बैंकहरुलाई मात्रै सुन वितरणको जिम्मेवारी दिइनुपर्ने, कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा भने कच्चा सुन आयातमा भन्दा बढी भन्सार लाग्नुपर्नेमा जम्मा नौ दशमलव पाँच प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्थाले स्वदेशी कालिगढ, श्रम र सीप खेर जाने अवस्था आएकोले उक्त व्यवस्थलाई पुनरावलोकन गरिनुपर्नेलगायतका छन् । यस्तै झिटीगुन्टाअन्तर्गत पैठारी हुने सुनको सीमा बढाइनुपर्ने, झिटीगुन्टाअन्तर्गत भित्रिने सुनको खरिद बिलमा प्रवेश विन्दुमा भन्सार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारीकर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरिद गर्नसक्ने प्रावधान हुनुपर्ने, सुनचाँदीको कारोबारसम्बन्धी प्रस्ट निर्देशिका बनाइनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपेशरत्न शाक्य, महासचिव किरणभाइ बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, रत्न आभूषण महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकर, महासचिव निरबहादुर विक, काठमाडौं सुनचाँदी व्यवसायी संघकी अध्यक्ष रोहिना शाक्यलगायत थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x