Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न नेपालको प्रस्ताव

बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न नेपालको प्रस्ताव


काठमाडौं । भारतको नयाँदिल्लीमा भएको बिमस्टेक बिजनेस समिट २०२४ मा बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न नेपालले प्रस्ताव गरेको छ । समिट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका हुन् ।

‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवद्र्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिङ्केज एन्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवद्र्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्नका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए । ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिकरूपमा सम्झौता गर्न सक्नेमा जोड दिएका थिए । यही कारण बिमस्टेक सदस्य राष्ट्रहरूबीच थप एकीकृत सञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक रहेको उनले दोहोर्याए ।

अध्यक्ष ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र बंगलादेशसँग जोडेर र कालादान आयोजनामार्फत म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताए । उनले पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आवतजावतमा सहज हुने उल्लेख गरे । ढकालले यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, उनले नेपाल र भुटानजस्ता भूपरिवेष्ठित मुलुकका लागि सुख्खा बन्दरगाहको विकास गर्नुपर्ने र व्यापार लागत कम गर्न र समग्र सञ्जाल बढाउन ती बन्दरगाहको सञ्जाललाई कसरी सुधार गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, ढकालले नेपालजस्ता भूपरिवेष्ठित मुलुकका लागि विद्यमान विमानस्थलको सहज सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्दै बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गर्न आग्रह गरे । व्यापार सहजीकरण दिगो विकासको मेरुदण्ड भएको बताउँदै उनले यसबाट लाभ लिन बिमस्टेक राष्ट्रहरूबीचको व्यापार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिए । ढकालले व्यापार प्रक्रियामा सुधार गरेर विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन बिमस्टेक क्षेत्रमा महत्वपूर्ण पहल भइसकेको भए पनि धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । ढकालले बिमस्टेकका सबै सदस्य राष्ट्रहरूबीच वार्ता गरेर समस्याहरूको समाधान खोज्न पनि आग्रह गरे । मंगलबारबाट भारतको नयाँदिल्लीमा भएको बिमस्टेक बिजनेस समिट बुधबार सकिएको छ ।

बिमस्टेक संस्थाले भारतको परराष्ट्र मन्त्रालय र कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) समेतको आयोजनामा सो समिट आयोजना गरेको हो । समिटमा कैयौँ मुलुकका संघ/सस्ंथा र उद्योगी/व्यवसायीहरूले सहभागिता जनाएका थिए । नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता थियो । ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (बिमस्टेक) नामले सन् १९९७ सालमा स्थापित सो क्षेत्रीय संस्थामा पूर्वी र दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंका गरी सात वटा मुलुकहरू सदस्य रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x