Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचिनियाँ ब्रान्ड जोइलो नेपालमा

चिनियाँ ब्रान्ड जोइलो नेपालमा


काठमाडौं । भीजी मोटर्स कम्पनीले चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ तथा एसआरएमका आठ वटा नयाँ मोडललाई नेपाली बजारमा प्रवेश गराएको छ । कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गरी यी आठ वटा मोडलले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूका माग पूरा गर्नेमा विश्वस्त रहेको जनाएको छ ।

जोइलोङ तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ । कम्पनीका अनुसार हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्रान्डबाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएको हुँदा, कालान्तरमा उपभोक्ताले बिक्रीपश्चातको सर्भिस तथा पार्टपुर्जा उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक रहेको छ । यस सम्भावनालाई मध्यनजर गरी कम्पनीले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैँले गाडी उत्पादन गर्ने कम्पनीहरू जोइलोङ तथा एसआरएमका गाडीहरू नेपालमा भित्र्याएको जनाएको छ । यसले कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्षसम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने बताइएको छ ।

जोइलोङ कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै सो कम्पनीका महाप्रबन्धक ज्याङले जोइलोङका ठूला माइक्रो बसहरू वर्षौँदेखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको बताए । यसलाई जस्तोसुकै बाटोमा पनि चलाउन सकिने गरी डिजाइन गरिएको छ । हाल जोइलोङका गाडीहरू विकसित मुलुकजस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशहरूमा अत्याधिक रुचाइएका छन् । बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्यधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङले बताए ।

उक्त पत्रकार सम्मेलनमा भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी पाँच वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी पाँच वटा मोडलहरूमा टी–३ पिकअप र दुई सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा पाँच सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदूषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा एसआरएम कम्पनीका महाप्रबन्धक लिग्वाले साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखे पनि एसआरएम कम्पनीबाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइने बताए । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबीएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको उनको भनाइ थियो ।

आगामी तीन वर्षमा एसआरएमले नेपाली बजारमा थप नयाँ मोडलहरू ल्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भीजी मोटर्सको सहकार्यबाट नेपाली बजारमा सबैभन्दा उत्कृष्ट बिक्रीपश्चातको सेवा ग्राहकले पाउने कम्पनीले जनाएको छ । भीजी मोटर्सका सीईओ विवेक बिजुक्छेले कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारमा हाल नेपालले विश्वका सबै देशलाई पछाडि पारेको बताए । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नुभन्दा निजी क्षेत्रले आफैँले चार्जिङ स्टेसनको स्थापना गर्ने गरिरहेको उल्लेख गरे । भीजी मोटर्सले यस आर्थिक वर्षमा मात्रै एक सय १० वटा चार्जिङ स्टेसन र नेपालभर १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको जानकारी दिए ।

यस्तै, उनले ढुक्क भएर जोइलोङका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नका लागि आग्रह गरे । कम्पनीले १५ सिटर जोइलोङ इए ४ लाई ६४ लाख, १७ सिटर जोइलोङ इए ५ लाई ६० लाख र २० सिटरको जोइलोङ इए ६ लाई ७६ लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ । यस्तै, एसआरएमको एसआरएम टी–३ पिकअपको मूल्य ३६ लाख, एसआरएम दुई सिटर कार्गोको ३८ लाख, पाँच सिटर कार्गोको ४० लाख, एसआरएम ३२ म्याजिकको ३५ लाख, एसआरएम ४२ रेगुलरको ४५ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x