नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
कुभिण्डो, केराको बुङ्गो र खोयाको थरीथरी परिकार !
काठमाडौं । केराको बुङ्गा र कुभिन्डोले भरिएको स्टलसँगै हँसिलो मुहारका एक युवा । धेरैजना झुम्मिएको देखेपछि त्यो दृश्यले मलाई पनि तान्यो । उनी रहेछन्, नुवाकोटका रामचन्द्र अगस्ती । शनिबार दरबारमार्गस्थित रैथाने हाटबजारमा पुग्दा आफूले बेच्न राखेका सामानको बारेमा जानकारी दिइरहेका उनी निकै व्यस्त थिए ।
एकछिन उभिएँ । रमाइलो मिजाससहितका उनका कुरा मलाई निकै चाख लाग्यो । नेपालमा केही छैन भनेर निराशा मात्र छाइरहेको बेलामा त्यो दृश्यले दृढ इच्छाशक्ति र चाहना भयो भने जे पनि यहीँ गर्न सकिन्छ भनिरहेको थियो ।
कोरियामा मासिक तीन लाख २० हजार आम्दानी गरिरहेका नुवाकोटको लिखु गाउँपालिका ४ चौघडाका अगस्तीलाई अर्काको देशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने यहीँ सुन फलाउन सकिन्छ भन्ने लागिरह्यो । नेपाल फर्केर आफ्नै माटोमा पसिना बगाउने हुटहुटीले त्यहाँको भिसा अवधि दुई वर्ष बाँकी रहँदा नै स्वदेश फर्कायो ।
बाबुबाजेले गरिरहेको कृषिकर्ममा नै आफ्नो भविष्य खोज्ने प्रण गरेर उनी जन्मथलो पुगे । दुःखसुख गरेर काठमाडौंमा बनाएको घर बेचेर गाउँ पुग्दा उनलाई धेरैले पागलसम्म भने ।
कृषि भनेको गरिबदुःखीले मात्र गर्ने पेसा हो भन्ने बुझाइलाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ । युवापुस्तामा देखिएको कृषिप्रतिको वितृष्णा र विदेशप्रतिको मोह देख्दा उनी दुःखी छन् । ‘यसरी नै युवापुस्ता कृषि पेसाबाट भाग्ने र विदेश मात्र जाने हो भने देशमा भोकमरीको समस्या आउला भन्ने डर छ मलाई त’, उनले भने, ‘सबैभन्दा पहिले त यो पेसाप्रतिको नकारात्मक धारणा हटाएर युवाहरूलाई आकर्षण गर्ने कार्यक्रम ल्याउन जरुरी छ ।’
कोरियाको बसाइपछि नेपाल फर्केर कृषिमा बिताएका १० वर्षले उनलाई धेरै कुरा सिकाएको छ । हरेक कुरालाई जिज्ञासु भएर हेर्ने अगस्ती त्यसमा नयाँपनको खोजी पनि गर्छन् । हरेक कामलाई सहज र छिटोछरितो रुपमा कसरी गर्न सकिन्छ भनेर उनी घोत्लिरहन्छन् । यसैको उपज हो उनको मकै गोड्ने र मल हाल्ने मेसिन । उनले बनाएका मेसिन र काम गर्ने तरिका सामाजिक सञ्जालहरूमा चर्चित समेत भएका थिए ।
नुवाकोटको कुभिन्डो दरबारमार्गमा ब्राण्ड
यतिबेला गाउँघरमा यत्तिकै उम्रिएर फल्ने कुभिन्डोको ब्रान्डिङमा लागेका छन्, अगस्ती । कुफलको रुपमा लिइने कुभिन्डोलाई नुवाकोटकै ब्रान्डको रुपमा अगाडि ल्याउन लागिपरेका छन् । बाख्राको खोरमाथि लटरम्म फलेका कुभिन्डो देखेपछि अगस्तीलाई यसको बारेका जान्न मन लाग्यो । इन्टरनेटमा हेर्दा त फाइदैफाइदा मात्र देखे । उनलाई यो कुरा सबैसामु पुर्याउन मन लाग्यो । कसरी बजारसम्म लैजान सकिन्छ भनेर खोजी गर्दा दरबारमार्गमा हरेक शनिबार लाग्ने रैथाने हाटबजारका बारेमा थाहा पाए । त्यहाँका तिलक ढकालसँग कुरा गरेपछि एउटा स्टल पाए । बहुउपयोगी कुभिन्डोको बारेमा बुझेपछि उनले राखेका सबै कुभिन्डो बिक्री भयो र माग पनि निक्कै बढेको उनले बताए ।
गाउँमा यत्तिकै कुहिएर खेर जाने कुभिन्डोलाई दरबारमार्गमा प्रतिकिलो एक सय रुपैयाँमा बेचिरहँदा पहिलो पटक कुभिन्डो बेच्छु भन्दा गरेको बुबाको गाली सम्झिन्छन् । बुबासँगको त्यो सानो विद्रोहले काठमाडौंवासीलाई गाउँको बहुउपयोगी अर्गानिक स्वाद चखाउन पाउँदा उनी निकै खुसी छन् । घरमा फलेको मात्र नभएर गाउँभरि फलेका कुभिन्डोले बजार पाएपछि सबैमा खुसी थपिएको उनले बताए । उनले किसानलाई प्रतिगोटा एक सय रुपैयाँ तिरेर ल्याउने गरेका छन् । चार हप्तामा पाँच सय केजीभन्दा बढी कुभिन्डो बिक्री गरिसकेका छन् । नेपालमा खासै कसैले पनि यसको खेती गरेको नपाएको भन्दै उनले आफैँ सुरु गर्ने बताए । बजार विस्तारका लागि भाटभोटेनीलगायतका सुपरमार्केट र साना मार्टहरूसँग पनि कुरा गरिरहेका छन् । नेपालको रैथाने प्रजातिको यो खेतीलाई व्यावसायिकरुपमै अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
लोप हुन लागेको कुभिन्डोको व्यापार मात्र नभएर अगस्तीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग कुरा गरेर यसको बीउ जोगाउन र ब्रान्डिङका लागि लागिपरिरहेका छन् ।
बहुउपयोगी कुभिन्डोको धेरै तरिकाले प्रयोग गर्न सकिने उनी बताउँछन् । ‘कुभिण्डोको बाहिरको सेतो धुलो क्यान्सर उपचारको रुपमा प्रयोग हुने भएकाले प्रतिकिलो २५ हजार रुपैयाँसम्म बिक्री भएको मैले पाएँ, भित्री भागलाई पिठो बनाएर सुगरका बिरामीले दैनिक खाँदा अचुक औषधिको काम गर्छ भने बियाँ अचारको लागि छोपको रुपमा प्रयोग गरिन्छ’, उनले भने, ‘चाना बनाएर खल्पी अचार र तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ भने यसको मस्यौरा पनि विश्वबजारमा प्रख्यात छ ।’ प्रसिद्ध मिठाइ ‘पेठा’ पनि यसबाटै बनाइने उनले बताए ।
कुभिन्डोमा फाइबर बढी हुने भएकोले पायल्स, सुगर, प्रेसरजस्ता रोगहरू कम गराउन मद्दत गर्ने उनको भनाइ छ । कुभिन्डोलाई भारतका आयुर्वेद कम्पनीहरूले जुस बनाएर विश्वबजारमा महँगो मूल्यमा बेचिरहेका छन् । बजारमा विषादीयुक्त खानेकुराको बिगबिगी भएको अहिलेको अवस्थामा अर्गानिक वस्तुको प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
थरीथरी स्वादमा बुङ्गाको परिकार
कुभिन्डोको बजार राम्रो भइरहेको अवस्थामा अगस्तीको आँखा खेतको कुनामा फालिरहेको केराको बुङ्गोमा पर्यो । इन्टरनेटमा सर्च गरिहाले । केराको बुङ्गा त आधुनिक विज्ञानले मात्र नभएर वैदिकरुपमा पनि धेरै महत्वपूर्ण रहेको देखेपछि उनले त्यसलाई पनि रैथाने बजारमा ल्याए । पहिलो दिन ल्याएको सबै बिक्री भएपछि अर्को हप्ता गाउँमा केराखेती भएकाहरू सबैसँग केराको बुङ्गा सङ्कलन गरेर काठमाडौं ल्याए । यसको पनि अचारलगायत ११ किसिमका परिकार बनाउन मिल्ने भएकाले विभिन्न रेस्टुरेन्ट र मार्टहरूमा समेत यसको माग बढ्दै गएको उनले बताए ।
खोया पकाएर सुपको स्वाद
करिब तीन वर्ष कोरिया बसेर आएका अगस्ती यतिबेला मकै छोडाएर बाँकी रहेको सुकेको खोयाको सुप बनाउनतिर लागेका छन् । कोरियाको बसाइमा उनले यसको सप जाडो महिनामा धेरै प्रयोग भएको देखेका थिए । ‘जाडो महिनामा मकैको खोयालाई उमालेर मसला प्रयोग गरी सुप बनाएर खाने चलन छ कोरियामा, यदि फाइदाजनक छ भने यहाँ पनि त्यसको प्रयोग किन नगर्ने ?’, उनले भने, ‘विज्ञसँग भेटेर यसमा कुन–कुन तत्व पाइन्छ भनेर अनुसन्धान गरिदिन आग्रह गरेको छु, त्यसको नतिजा आएपछि यसको प्रक्रिया अगाडि बढाउँछु ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया