Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’

एनसेलले ल्यायो रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’


काठमाडौं ।
एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ सुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ ।

एनसेलले आफ्नो हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ । एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनुपरेको छ ।

भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ । कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृत्ति बढिरहेको बेलामा कामको खोजीमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौँ ।

अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितिका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्दछ । कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्व राख्ने विश्वास लिएका छौँ ।’ महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट वञ्चित रहनुपरेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजीमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजिरहेकाहरुलाई एक उत्तम सेवा हुने विश्वास छ ।

हालको सुरुवाती अवस्थामा शारीरिक रुपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् । कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् ।

सर्वप्रथम आफूले खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ । कामदार खोजिरहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनुपर्ने हुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकतासम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

कम्पनीका अनुसार यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ । त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले तीन दिन, सात दिन, एक महिना, छ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजीमा रहेका व्यक्तिले करसहित तीन रुपैयाँ ८३ पैसामा तीन दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसैअनुसार प्याकको समयसीमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले करसहित आठ रुपैयाँ ९४ पैसामा सात दिनको र करसहित ३८ रुपैयाँ ३१ पैसामा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले छ महिना र १२ महिना समयसिमा रहेको प्याक करसहित मात्र एक सय ५३ रुपैयाँ २२ पैसा र दुई सय २९ रुपैयाँ ८४ पैसामा सुचारु गर्न सक्नेछन् । यहि अनपज अभियानअन्तर्गत एनसेलले योभन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो । अभियानअन्तर्गत एनसेलले आउने दिनहरुमा पनि ग्राहकलाई विभिन्न सेवा सुविधाहरु ल्याउने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया