Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसंघद्वारा पहिलो मोबाइल ब्लड बस हस्तान्तरण

संघद्वारा पहिलो मोबाइल ब्लड बस हस्तान्तरण


काठमाडौं ।
प्रतिकूल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन सञ्चालन भएको एनआरएनको ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत पहिलो घुम्ती रगत बस गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकामार्फत नेपाल रेडक्रस सोसाइटी चितवन क्षेत्रीय रक्तसञ्चार, भरतपुरलाई हस्तान्तरण गरेको छ ।

नेपालबाहिर रहेर पनि आफ्नो देशप्रति जिम्मेवारी पूरा गर्न धेरै गैरआवासीय नेपालीहरूले आर्थिक तथा प्राविधिक ज्ञान र सीप हस्तान्तरण गर्न लगानी गरिरहेका छन् । ‘नेपालीका लागि नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको हो । यस कार्यदलले नेपालमा रगत भण्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।

सन् २०१८ मा यस कार्यदलका संयोजक फणिन्द्र पन्तको नेतृत्वको विज्ञ टोलीले एक कार्यशाला गरी घुम्ती रगत बस परियोजनालाई अगाडि बढाएको थियो । त्यस कार्यदलले २०१७–०१९ कार्यकालमा १५ लाखजति संकलन गरेको थियो । यो परियोजनालाई अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरीराज जोशीको सभापतित्वमा २०१९–०२१ मा गैरआवासीय नेपाली संघले आफ्नो गौरवको परियोजना अन्तर्गत राखेको र कोभिड–१९ ले रक्तसञ्चार क्षेत्रमा निम्तयाएको प्रतिकूलता कम गर्न द्रुतगतिमा काम गरी हस्तान्तरण गरेको थियो ।

संघका सचिव आरके शर्माले विदेशमा वा स्वदेशमा जहाँ पनि अप्ठ्यारोमा परेका नेपालीहरूका लागि संघले सहयोग तथा सहकार्य गर्दै आएको बताउँदै गैरआवासीय नेपालीहरूको सहयोगमा उक्त बस हस्तान्तरण गरिएको बताए । एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मेडिकल हबको रुपमा विकास भइरहेको भरतपुरमा ब्लड बसको आवश्यकता महशुस गरी बस सहयोग गरिएको बताए । ‘देश जनताले नै बनाउने हो । जनताले नै सहयोग गर्नुपर्छ । त्यसैले हामीले सहयोग गरेका हौँ’, उनले भने ।

नेपालीहरू उपचार गर्न विदेश जानु नपर्ने गरी मेडिकल सिटी बनाउनु नेपालमा अति आवश्यक भएको उनले बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालले गैरआवासीय नेपाली संघले देशको विकट तथा संकट परेको स्थानहरूमा सहयोग गर्दै आएको र हाल मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा रगत आवश्यक रहेको बताउँदै त्यसलाई परिपूर्ति गर्न सहयोग गरेकोमा संघलाई धन्यवाद दिएकी थिइन् ।

गैरआवासीय नेपाली संघ, भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन रक्तसञ्चार क्षेत्रको प्रतिनिधिहरूबाट संयुक्त रुपमा उद्घाटन भएपछि भरतपुर महानगरका मेयर र कार्यकारी निर्देशकले संयुक्त रुपमा रक्तदान गरेका थिए । संघको उपाध्यक्ष डा. बद्री केसीको अध्यक्षता भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहालको प्रमुख अतिथ्यता र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सभापति ज्ञानशाली न्यौपानेको विशिष्ट अतिथ्यतामा भएको उक्त कार्यक्रममा संघको तर्फबाट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिव आरके शर्मा, सह–कोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह र सोम सापकोटालगायतको उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया