Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम


काठमाडौँ ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका थिए । सोही दिन चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए ।

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो । यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दै छ ।

धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधनजस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदै छ । अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरु र अनुगमनलगायतका कामहरु पनि गर्नेछ । पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुमार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधूरीका जनसमुदायहरुलाई सेवा प्रवाह गर्छ ।

कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घरोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ ।

टेलिमेडिसिनअन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका जनसमुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन्, जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्यसम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् । पीएचपीलाई कार्यक्रम सञ्चालन गरिने समुदायहरुभन्दा बाहिर समेत लाने उद्देश्यका साथ जनसमुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्यांकमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रमअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया