Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगम्यान्मारमा भ्रमणवर्षको प्रचार

म्यान्मारमा भ्रमणवर्षको प्रचार


काठमाडौं, पुस २८
सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र तीन सय २५ पटक नेपाल भ्रमण गरेका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । म्यान्मारबाट अहिलेसम्म दुई जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहीहरू पे फ्यो आङ र विन को कोले नेपाल साहसिक पर्यटनका लागि संसारकै उत्कृष्ट स्थान भएको बताए । ‘म्यान्मारमा नेपाललाई बुद्ध जन्मस्थल भनेर बढी प्रचार गरिन्छ । तर त्यहाँका पहाड र हिमाल हाम्रा लागि रहस्य र रोमाञ्चकले भरिएका छन्’, पे फ्यो आङले भने, ‘वर्षैभरि गर्मीमा बस्ने र कहिले हिउँ नदेखेका बर्मेलीका लागि नेपालका पहाड नजीकको आकर्षक गन्तव्य हो ।’

तीन सय २५ पटक नेपाल पुगेकी ड थाजिन मिन्ट आईले बुद्ध जन्मस्थल नेपालमा जाँदा प्राप्त हुने आध्यात्मिक शान्तिले आफूलाई पटक–पटक नेपाल लगिरहने बताइन् । ‘म्यान्मारमा चार करोड ५० लाखभन्दा धेरै बौद्धमार्गी छौँ’, थाजिन मिन्ट आईले भनिन्, ‘हाम्रो भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्छ भनेर जानकारी दिन सके धेरैभन्दा धेरैलाई नेपाल पु-याउन सकिन्थ्यो ।’

यांगुनस्थित प्रसिद्ध कान्डावजी तालको छेउमा आइतबार बिहान एक हजारभन्दा धेरै बर्मेलीमाझ नेपाल भ्रमण वर्षको प्रचार गरिएको हो । म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदासले पर्यटन वर्षसँगै यो वर्ष नेपाल र म्यान्मारबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा वर्षभरि नै विभिन्न कार्यक्रम भइरहने जानकारी दिए ।

याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेंले दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षमात्र भए पनि गोर्खालीहरूले सयौँ वर्षदेखि बर्मा आएर म्यान्मा निर्माणमा सहयोग पु¥याइरहेको बताए । ‘आजको म्यान्मार निर्माणमा गोर्खालीहरूको योगदान कसैको भन्दा कम छैन’, फ्यो मिन थेंले भने, ‘नेपाल र म्यान्मारबीच नागरिकस्तरमा पनि राम्रो सम्बन्ध छ । अब भ्रमण वर्षले त्यसमा थप योगदान दिन सक्छ ।’ उनले भ्रमण वर्षको उपलक्ष्यमा नेपाल सरकारले म्यान्मार नागरिकहरूलाई भिसा शुल्क मिनाहा गरेर थप आकर्षित गर्नसक्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री फ्यो मिन थेंले नेपाल भ्रमण वर्षका सद्भावना राजदूत म्यान्मारी अभिनेत्री उन उन, उद्योगपति अएक टुन र समाजसेवी ड नी नीलाई सम्मानपत्र प्रदान गरेका थिए । नेपाली दूतावासले कार्यक्रममा उपस्थित सात सयभन्दा धेरैलाई भ्रमण वर्ष अंकित टिसर्ट निःशुल्क उपलब्ध गराएको थियो । कार्यक्रमको सञ्चालन नेपाली मूलका बर्मेली प्रवीणहरि प्रधानले गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया