Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

इ–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने


काठमाडौं ।
भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ प्रयोगकर्ताले इ–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्नसक्ने भएका छन् । योसँगै आफूले चाहेको बैंक खातामा इ–सेवा खाता लिंक गरी अझ ढंगले इ–सेवा खातामा रकम लोड गर्न सकिनेछ ।

इ–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इ–सेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, ‘इ–सेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ ।’

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इ–सेवा प्रयोगकर्ताको इ–सेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इ–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्नेछ भने इ–सेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इ–सेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इ–सेवा एकाउन्टमा सेकेण्डरी आईडीका रुपमा राख्न सकिनेछ ।

बैंक खातामा इ–सेवा लिंक गर्नका लागि सर्वप्रथम इ–सेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्ड राखी पेमा क्लिक गरेमा बैंक खाता इ–सेवामा लिंक हुनेछ ।

बैंक खाता लिंक गरेपछि इ–सेवा खातामा रकम लोड गर्नका लागि इ–सेवा खाता लगइन गरी लोड मनि अप्सनमा गई आफूले लिंक गरेको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इ–सेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इ–सेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ ।

इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया