Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘अहिलेको प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा’

‘अहिलेको प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा’


काठमाडौं ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा भएको बताएको छ । महासंघका अनुसार कोभिडका कारण हालसम्म १८ जना लघु उद्यमीको मृत्यु भइसकेको छ । यस्तै एक सय १९ जना कोरोना संक्रमित छन् । कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहेको महासंघको भनाइ छ ।

कोभिडको उच्च जोखिममा पनि आपूर्ति व्यवस्थालाई सुचारु राख्न उद्यमीहरुले अहोरात्र काम गरिरहेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष श्याम गिरीका अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरुमध्ये ताप्लेजुङ्गमा दुई जना, काभ्र्रेमा एक जना, कैलालीमा दुई जना, पर्सामा एक जना, सुर्खेतमा दुई जना बाँकेमा पाँच जना, दाङमा दुई जना, सल्यानमा एक जना, मकवानपुरमा एक जना, संखुवासभामा एक जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

साथै उनले देशभरका आम जनसमुदाय र लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफ्ना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफ्ना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आह्वान गरे ।

यस्तै उनले कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजस्व विभागले जसरी भए पनि कर तिर्न आउन भन्नु दुःखद कुरा भएको बताए । उनले भने, ‘अहिले सबै क्षेत्रजस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिँड्ने र कर तिर्ने अवस्थामा छैनौँ । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दछौँ ।’

यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत बिर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्यधिक ब्याज लगाई उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको उनको गुनासो छ । उनले बैंकहरुलाई बैंकर्स एसोसिएनसनमार्फत यस्ता निर्णयहरु सच्याई कोभिड प्रकोपको यस परिस्थितिमा सुमधुर व्यावसायिक वातावरण कायम राख्न आग्रह गरे ।

पुनर्कर्जाका सम्बन्धमा राष्ट्र बैंकले प्रस्ताव गरेको पुनर्कर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदाहरुलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा करकट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनर्कर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको महासंघका अध्यक्ष गिरीको भनाइ छ ।

सरकारले यो व्यवस्था जारी गरिसकेपछि लघु, घरेलु र साना उद्योगको हकमा लागू गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर सुरु भई सम्पूर्ण उद्योग व्यवसाय बन्द भएको जगजाहेर रहेको उनले बताए । पुनर्कर्जा कार्यविधिमा प्रतिकूल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी सम्बन्धित निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधि, नेपाल राष्ट्र बैंक, घरेलु कार्यालय, कर कार्यालय र सम्बन्धित बैंकको प्रतिनिधि समेत रहेको अनुगमन तथा छानबिन समितिको सिफारिसको आधारमा पुनर्कर्जा दिने प्रावधान राख्न राष्ट्र बैंकसँग उनले आग्रह समेत गरे ।

ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर सुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एक पक्षीय रुपमा कामदारको न्यूनतम पारिश्रमिक तोकी लागू गर्ने मिति समेत राजपत्रमा उल्लेख गरेकोमा उनले असन्तुष्टि जनाए ।

लघु, घरेलु तथा साना उद्योगीहरु कोरोनालगायतका प्रतिकूलताका कारण कतिपय बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको यो व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पु-याउने निश्चित भएको दाबी गरे । त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमतिअनुसार सात सय रुपैयाँ मात्र बढाउने पक्षमा महासंघरहेको उनको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया