Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमौज्दात अक्सिजन सिलिण्डरहरू नजिकका अस्पताललाई उपलब्ध गराउन अपिल

मौज्दात अक्सिजन सिलिण्डरहरू नजिकका अस्पताललाई उपलब्ध गराउन अपिल


काठमाडौ ।
नेपाल निर्माण व्यवसायी महासंघले अक्सिजन अभावका कारण कोभिड संक्रमित बिरामीको ज्यान गइरहेकोले मौज्दात अक्सिजन सिलिण्डरहरू तत्काल नजिकका अस्पतालहरूलाई उपलब्ध गराउन निर्माण व्यवसायीहरुसँग अपिल गरेको छ ।

कोरोना भाइरसको दोस्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीहरूको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान गइरहेको छ । अक्सिजनको चरम अभाव भइरहेको स्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिललगायतका निर्माण कार्य गर्दा वाल्डिङका लागि प्रयोग हुने आफूसँग मौज्दात अक्सिजन सिलिण्डरहरू संक्रमितको उपचारका लागि उपलब्ध गराउन महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता सिलिण्डरहरूको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत नजिकका अस्पतालहरूलाई तत्काल उपलब्ध गराई सहयोग गर्न आग्रह गरेका छन् ।

महासंघले आफूमातहतका सम्पूर्ण सदस्यहरू, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरुलाई अपिल गरेको हो । देशभर हाल सञ्चालित साढे छ हजार परियोजनाहरूमध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरहरूको प्रयोग भइरहेको अवस्थामा ती सिलिण्डरहरू कोभिड संक्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासंघले संघीय सरकार तथा प्रदेश सरकारहरूलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै विगतमा महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी महासंघले पीडितहरूको घाऊमा मलहम लगाउन कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया