Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना

महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना


काठमाडौं ।
मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु-याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ । महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् ।

कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँट समेत गरिएको छ । जसअनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल/आइसोलेसन केन्द्र सहजीकरण हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनमा इ. देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा केयूर गौतमलाई जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।

यस्तै एम्बुलेन्स/आइसोलेसन केन्द्र रन्जितराज आचार्य, औषधि मेडिकल उपकरण प्रबलजंग पाण्डे र भक्त हमाल र होटल हवाइ यातायात ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मा दिइएको छ । सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन् । सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भइरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भइरहेको महासंघले जनाएको छ ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु-याउँदै आएको छ । एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको सुरुवात गरिसकेको छ ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन पनि महासंघले सबैमा आग्रह गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया