Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघ र एसियन थाई फुड्सद्वारा दुहबी नगरपालिकालाई सहयोग

परिसंघ र एसियन थाई फुड्सद्वारा दुहबी नगरपालिकालाई सहयोग


काठमाडौं ।
नेपाल उद्योग परिसंघ प्रदेश १ को समन्वय र रमपम चाउचाउको उत्पादक एसियन थाई फुड्स, सोनापुर सुनसरीको सौजन्यमा दुहबी नगरपालिकालाई २५ लाख मूल्यबराबरको राहत सामग्री उपलब्ध गराइएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको चपेटामा परेका पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्रका औद्योगिक कामदारलाई राहत पु-याउने उद्देश्यले मंगलबार उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।

एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाले कम्पनीले प्रतिपरिवारलाई ४–५ दिनसम्म पुग्ने गरी चामल, दाल, खाने तेल, नुन, चाउचाउ, बिस्कुट, भटमासको मस्यौरा, मास्कलगायतका राहत सामग्रीहरु वितरण गरिएको बताए । एसियन थाई फुड्सको सौजन्यमा आयोजित उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रबन्धनिर्देशक महेश जाजूले अक्सिजन, आइसोलेसन र भेन्टिलेटर नपाएर बिरामीको बिचल्ली भएजस्तै कतिपय कामदार भोकले पीडित हुने अवस्था आएकोले कम्पनीले सहयोग गरेको बताए ।

परिसंघको समन्वयमा भएको उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, एसियन थाई फुड्सका प्रशासकीय अधिकृत प्रकाशराज श्रेष्ठ, उत्पादन व्यवस्थापक समीर श्रेष्ठ, कम्पनी प्रतिनिधि हरी चौधरी लगायतले दुहवी नगरपालिका वडा नं. २, ८, ९, १०, ११ का वडा अध्यक्षहरु समेतको उपस्थितिमा दुहबी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरेले लामो लकडाउनका कारण श्रम गर्न नपाएका र दैनिक अवस्था दयनीय भएका कामदारलाई मानवीय सेवा गर्ने उद्देश्यका साथ उक्त सामग्री हस्तान्तरण गरेको बताए । साथै उनले परिसंघको प्रदेश समिति आवश्यकता र क्षमताअनुसार राहत वितरणलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत जनाए ।

मुलुक कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा र कडा लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा विभिन्न उद्योग र कलकारखानामा काम गर्ने कामदारहरु बेरोजगार भइरहेको स्थिति छ । कडा लकडाउन, आवागमन र ढुवानीमा अवरोध अनि कामदारलाई आवतजावत गर्न समेत रोक लगाइएका कारण प्रदेश नम्बर १ का अधिकांश उद्योग आधा क्षमतामा सञ्चालन गर्न बाध्य हुनुपरेको छ । यसले गर्दा आधाभन्दा बढी औद्योगिक कामदार अहिले खाए भरे के खानेको विवशताले पीडित भइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया