Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोभिड महामारीका कारण ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित

कोभिड महामारीका कारण ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित

कोभिड महामारीमा मानवीय सहायताका लागि महासंघको सिंगो सञ्जाल नै परिचालित


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको बताएको छ । महासंघका अनुसार प्रदेश नम्वर १ मा ८२ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, वाग्मती प्रदेशमा ६९ प्रतिशत, प्रदेश नम्बर २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४ दशमलव पाँच प्रतिशत, सुदूरपश्चिममा ५७ दशमलव सात प्रतिशत र कर्णाली प्रदेशमा ४५ दशमलव पाँच प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको जनाएको छ ।

महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग सम्पर्क गरी जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरबारे जानकारी लिएको जनाएको छ । खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू बिहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् ।

उद्योग व्यवसाय चलाउने लाखौँ मानिसहरू घरभित्र थुनिएर बसेका छन् । निजी क्षेत्र धराशायी अवस्था हुन पुगे पनि महासंघसहित यसको सिंगो सञ्जाल नै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको महासंघले जानकारी दिएको छ । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावनाअनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघको भनाइ छ । महासंघको सञ्जाल यतिखेर सबैतिर परिचालित भएको छ ।

महासंघका अनुसार उद्यमी व्यवसायीहरू आइसोलेसन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन/कन्सन्ट्रेटरलगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् । त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ ।

महासंघका अनुसार करिब एक सयवटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू यतिबेला कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएका छन् । महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् भने कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आईसीयू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालन लगायतमा सहयोग गरिरहेका छन् । त्यस्तै कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन् ।

महासंघका वस्तुगत संघहरू, एसोसिएट सदस्य औद्योगिक एवं व्यावसायिक घरानाहरू, उद्योग प्रतिष्ठानहरू, बैंकिङ क्षेत्रले विभिन्न अस्पतालहरूलाई आर्थिक सहयोग, अक्सिजन, औषधिसहित अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग तथा आआफ्ना कामदार कर्मचारीहरूको व्यवस्थापनमा समेत सहयोग गरिरहेको महासंघले जनाएको छ । महासंघ आफैँले पनि काठमाडौं र ललितपुरमा गरी तीनवटा आइसोलेसन सञ्चालन गरी कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ । यसका लागि महासंघले राहत कोष नै खडा गरेको छ ।

महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइसोलेसन केन्द्र अक्सिजनसहित चालू छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुर अक्सिजनविनाको ड्राइ आइसोलेसनका रुपमा चालू छन् भने सबै आइसोलेसन केन्द्रमा चौबीसै घण्टा स्वास्थ्य चेकजाँच तथा औषधिको प्रबन्धसहितको व्यवस्था छ । आवश्यकताका आधारमा थप विस्तार गर्दै जाने महासंघको योजना छ ।

यस्तै महासंघले कोभिड संक्रमित बिरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म सयौँ बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् । मानवीय सहायता कार्यलाई आआफ्ना प्रदेशमा प्रभावकारी व्यवस्थापन गर्न महासंघका प्रदेश च्याप्टरहरू पनि त्यत्तिकै सक्रिय रहेको महासंघले जनाएको छ ।

महासंघका सातै प्रदेशमा बलिया प्रदेश च्याप्टर रहेका छन् । महासंघको प्रदेश नम्बर १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्न कोभिड क्राइसिस सपोर्ट ग्रुप नै खडा गरी सहयोग गरिरहेको छ । साथै ग्रुपले कोभिड खोपको प्राथमिकतामा औद्योगिक क्षेत्रमा काम गर्ने कामदार श्रमिकहरूलाई राख्न समेत माग गरेको छ । उद्योगी व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न र छिटो खोप ल्याउन महासंघको गण्डकी प्रदेशले अनुरोध गरेको छ ।

महासंघको प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशले जतिसक्दो छिटो खोप सर्वसुलभ बनाउनुपर्ने र यसका लागि खोप खरिदको जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने माग अघि सारेको छ भने लुम्बिनी प्रदेशले आम सर्वसाधारणलाई निःशुल्क खोपको व्यवस्था गर्न र उद्योगी व्यवसायीलाई सशुल्क खोपको प्रबन्ध गरिदिन सरकारसँग आग्रह गरेको छ । वाग्मती प्रदेशले बजार व्यवस्थापनमा सहयोगका साथै कोभिडका विषयमा जनचेतना विस्तारमा कार्य गरिरहेको महासंघले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया