Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–व्यापार संघद्वारा होम डेलिभरी र इ–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना

इ–व्यापार संघद्वारा होम डेलिभरी र इ–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना


काठमाडौं ।
इ–व्यापार संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजेसम्म सीमित गर्नु, र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेरबदल नगरेकामा आपत्ति जनाएको छ । यसले उपभोक्ताका साथै इ–वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर पार्ने संघले जनाएको छ ।

इ–व्यापार संघ नेपालका अनुसार, सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि, जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान दिएको छैन । संघका अध्यक्ष सागर भट्टराई भन्छन्, ‘सरकारले लगाएको सुरक्षा उपायहरूलाई इ–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैँ अनुसरण गर्दै आएको छ । सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ । यसले इ–व्यवसायमार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायहरूको कष्टहरू कम गर्दछ, र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ । त्यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरुलाई सम्बोधन गर्न आग्रह गर्दछु ।’

महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिनाभन्दा बढी भइसकेकोले स्टेसनरी, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु उपभोक्ताहरूको लागि खाना र कपडाजत्तिकै आवश्यक भएको छ । यद्यपि, सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम चालेका छैनन् । धेरै व्यवसायहरू यस प्रतिबन्धबाट नकरात्मक रूपमा प्रभावित भएका छन् । यदि इ–वाणिज्य कम्पनीहरूलाई केही उत्पादन समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा सञ्चालन गर्न अनुमति दियो भने यो समस्या समाधान हुनसक्छ । साथै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने संघको भनाइ छ ।

कोभिड–१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरका देशहरूका सम्बन्धित सरकारहरूले इ–वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाको रुपमा पूर्ण रुपले सञ्चालन गर्न दिएका छन् । यी देशहरूले घरेलु अर्थतन्त्रलाई वृद्धि गर्दै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न होम डेलिभरीमा कुनै किसिमको रोक लगाएको छैन । होम डेलिभरीलाई अनुमति दिँदा विभिन्न वस्तुहरू किनमेल गर्न मानिसहरु घरबाहिर निस्किनु पर्दैन र सरकारको जनादेशअनुसार कोभिड–१९ रोकथाम गर्न जारी आदेशहरुलाई कार्यान्वयन गर्न समर्थन गर्दछ ।

संघका अनुसार इकमर्स र होम डेलिभरी सेवाहरूमा सीमित कार्य अवधि लागू गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्ण रुपमा बेवास्ता गर्नु हो । इ–वाणिज्य र होम डेलिभरी कम्पनीहरूले महामारीको क्रममा अर्थतन्त्रलाई माथि ल्याउन एक सहयोगी स्तम्भको रूपमा काम गर्ने संघले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया