Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह


काठमाडौं ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।

संघका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । ‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ । एसोसिएसनका अनुसार संस्थामा आबद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार दुई सय जना संक्रमित भइसकेका छन् ।

संघले प्रदेश नम्बर १ मा रहेका दुई सय ४१ पेट्रोलपम्पका सञ्चालक, कर्मचारी, ट्र्याकरका चालक/सहचालक गरी एक हजार सात सय ६३ जना, प्रदेश नम्बर २ का दुई सय ७८ पम्पका एक हजार नौ सय १३ जना, वाग्मती प्रदेशका तीन सय ८२ वटा पम्पका दुई हजार नौ सय ९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ । यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका चार सय ४०, लुम्बिनी प्रदेशका चार सय दुई पम्पका दुई हजार छ सय ३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका पाँच सय ९८ गरी १० हजार तीन सय ४३ जनालाई तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया