Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘औद्योगिक पूर्वाधारको आधार लघु, घरेलु तथा साना उद्योग’

‘औद्योगिक पूर्वाधारको आधार लघु, घरेलु तथा साना उद्योग’


काठमाडौं ।
नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औँ स्थापना दिवसका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको जानकारी दिए । लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्धन, सम्वद्र्धनको लागि महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको उनले बताए ।

आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्वपूर्ण सुझावहरुलाई महत्वका साथ लिने भन्दै उनले सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय समेटिएको बताए । मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको उनको भनाइ थियो ।

कोभिड महामारी सुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको उनले बताए । ‘घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित भएको, हामीले आफैँले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौँ’, उनले भने । साथै उनले जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्ने र विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको बताए ।

संघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरुको प्रवद्र्धनबाट सुरु भएको बताए । उनले भने, ‘खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हे¥यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन् ।’ उनका अनुसार अमेरिककाकै इतिहास हेर्ने हो भने ५० वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवर्द्धनबाट फड्को मारेको छ ।

यसैगरी नेपाल अल्पविकसित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा हामीले आर्थिक हैसियत र पूर्वाधार विकास ग-यौँ कि गरेनौँ भनेर बुझ्न जरुरी भएको उनको भनाइ थियो । अध्यक्ष गिरीले अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागू गरिए पनि लक्षित वर्गले सहजै प्राप्त गर्न नसकेको बताए ।

११ हजार महिला उद्यमीमध्ये दुई चार सयभन्दा बढीले यो सुविधा प्राप्त गर्न नसकेको उनको भनाइ थियो । यस्तै पुनर्कर्जाकै कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएको भन्दै उनले आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गनुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरुवात गरेको महासंघ ७७ वटै जिल्ला, तीन सय ४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए । यस्तै उनले बजेटमा महासंघले दिएका सुझाव धेरै सम्बोधन भएकोले अब कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया