Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सेवा परमो धर्म’ अभियान सञ्चालन

‘सेवा परमो धर्म’ अभियान सञ्चालन


काठमाडौं ।
भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गरेका छन् । भक्तपुर चेम्बर र भक्तपुर जिल्लाका सबै लायन्स क्लबहरु मिलेर गठन भएको भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ भन्ने नारासहित उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित नेपाल इन्जिनियरिङ कलेजमा चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको ५० सैयाको आइसोलेसनमा बस्नेहरुका लागि निःशुल्क रुपमा दिनको चार पटक गरी खाजा खानाको व्यवस्था गरिएको छ । साथै अक्सिजनको सुविधासहित दिनको एकपटक स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत उपलब्ध गराउने कार्य भइरहेको बताइएको छ । हालसम्म उक्त आइसोलेसनबाट २२ जना बिरामीहरु लाभान्वित भई घर फर्किसकेका छन् भने हाल सात जना बिरामीले उक्त स्थानबाट लाभ लिइरहेका छन् । आइसोलेसनमा बसेकामध्ये एक जनाको उपचारका लागि अन्यत्रै अस्पतालमा पठाउने कार्य भएको छ ।

यस्तै विभिन्न अस्पताल एवं हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु जो कोभिड १९ का बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छन्, त्यस्ता स्वास्थ्यकर्मीहरुका लागि सीबीआर भवन इन्द्रायणी पीठ भक्तपुरमा क्वारेन्टाइन सञ्चालन गर्दै आइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य स्थिति परीक्षण सम्बन्धमा डाक्टरस सोसाइटीको तर्फबाट प्रत्यक्ष रुपमा निगरानी गर्दै आइरहेको छ । क्वारेन्टाइनमा दैनिक खाजा खाना बसाइलगायतका सुविधाहरु निःशुल्क उपलब्ध छन् । स्थानका लागि शिविर भक्तपुरको सहकार्य गरेको छ भने दैनिक रुपमा खाजा खाना बनाउन कुकको व्यवस्थापनका लागि भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघले सहयोग गरेको समितिले जनाएको छ ।

यस्तै समितिले सर्वसाधारणलाई कोभिड १९ बाट हुनसक्ने जोखिमबारे सुसूचित गराउने उद्देश्यले जुम प्रविधिबाट विभिन्न सचेतना अभियान सञ्चालन गर्दै आएको छ । साथै घर घरमा बसी स्वास्थ्यलाभ लिइरहेका कोभिड १९ का बिरामीहरुलाई फोन सम्पर्कमार्फत निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरुमार्फत परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य परामर्श लिनको लागि हटलाइन नम्बरहरु ९७४२८८२९६२/६३/६४ को समेत व्यवस्था समेत गरेको समितिले जनाएको छ ।
यस्तै समितिले ४० लिटरका अक्सिजनसहितको सिलिण्डर प्रत्येकलाई पाँचवटाको दरले क्रमशः भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाअन्तर्गत सञ्चालित नेपाल कोरिया अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ ।

यसैगरी एउटा अभियानअन्तर्गत सञ्चालित क्वारेन्टाइनका लागि व्यवस्था गरेको छ । साथै विभिन्न दाताहरुबाट व्यक्तिगत रुपमा विभिन्न स्थानमा सहयोग प्रदान गर्नका लागि थप ३४ वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको छ । यस्तै विशेषगरी कोभिड १९ का बिरामीहरुलाई सहजरुपमा अस्पतालसम्म पु-याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । अभियानअन्तर्गत नै भक्तपुर लायन्स सेवा समन्वय समितिको तर्फबाट भक्तपुर नगरपालिकाबाट निर्माणाधीन अक्सिजन प्लान्टका लागि तीन लाख आर्थिक सहयोग समेत प्रदान गरिएको समितिले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया