Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको आग्रह

उद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको आग्रह


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीको समयमा पनि अग्रपंक्तिमा रहेर अत्यावश्यक उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेको निजी क्षेत्र पनि जोखिमयुक्त वर्गमा पर्ने भएकोले किराना व्यवसायी, उद्योगी एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरहरुलाई दुवै चरणको खोपको व्यवस्था गर्न चेम्बरले सरकारसँग माग गरेको छ ।

नयाँ भेरिएन्टको कोभिड–१९ को दोस्रो चरणको महामारीले उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको र समयमै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले अग्रपंक्तिमा कार्यरत समस्त व्यावसायिक क्षेत्रको आत्मबलमा समेत ह्रास आएको चेम्बरको भनाइ छ । ‘मुलुकमा लकडाउन भई अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन् भने अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समेत चुनौतीपूर्ण अवस्था सृजना हुन गएको छ’, चेम्बरद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसबाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपालजस्तो अतिकम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको चेम्बरको भनाइ छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्न जाने चेम्बरले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया