Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय रेलमार्गका लागि चाँडो मुआब्जा निर्धारण गर्न निर्देशन

विद्युतीय रेलमार्गका लागि चाँडो मुआब्जा निर्धारण गर्न निर्देशन


काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काकडभिट्टा–इनरुवा खण्डमा मुआब्जा वितरणको लागि जग्गाको मूल्य निर्धारण चाँडो टुंग्याउन आयोजना र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

रेल विभागकी महानिर्देशक प्रमिलादेवी शाक्य, सो आयोजनाका प्रमुख तथा झापा, सुनसरी र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधबार भर्चुअल माध्यमबाट छलफल गर्दै उनले तत्काल जग्गाको मूल्य निर्धारण गर्न निर्देशन दिएका हुन् । उक्त रेलमार्ग निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको भन्दै उनले राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना स्वीकृत भएको जानकारी समेत गराएका थिए । सो आयोजनामा आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

मन्त्री नेम्वाङले आयोजनाको रेखांकनमा पर्ने स्थानमा रहेका दोहोरो स्वामित्व भएको जग्गाबारेमा भूमिसम्बन्धी समस्या समाधान आयोगले निकास दिने बताए । यस्तो समस्या भएको ठाउँमा त्यहाँका मालपोत कार्यालय, नापी कार्यालय र स्थानीय निकायसंँग छफफल गरेर मात्र मुआब्जा वितरण गर्नुपर्नेमा उनको जोड छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जग्गाको मूल्य निर्धारण भइसकेकाले मुआब्जाको काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए । सरकारले काँकडभिट्टा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण अघि बढाउने लक्ष्य लिएको छ ।

आगामी आबमा बर्दिवास–निजगढ खण्डको ट्र्याक वेल्ट निर्माणसम्पन्न गरिनेछ भने निगजढ–अमरागढी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बजेट वक्तव्यमा उल्लेख छ । अरु खण्डमा पनि वित्तीय व्यवस्था गरी बाँकी खण्डको निर्माण अघि बढाइनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया