Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता सुरु

माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता सुरु


काठमाडौं ।
कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ । यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता सुरू भएको छ । माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आईसीटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेसनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएसन)लाई छनौट गरी उत्कृष्ट ७ लाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

सहभागि हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी वेबसाइटमा गएर आफ्नो क्रिएसन बुझाउन सक्नेछन् । यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आईसीटी विकास समिति), प्याब्सनलगायतका संस्थाहरूको सहयोग रहेको छ ।

‘भविष्य नेपालको’ नारासहित शिक्षा सिकाइलाई रूपान्तरण गर्ने प्रयासमा रहेको माई सेकेण्ड टिचरले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । माई सेकेण्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लेटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ । मेरो डिजिटल नेपाल थिममा आईसीटी राइटिङ एण्ड डिजिटल क्रिएटिभिटी कम्पिटिसन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित सात जनाको छनौट समिति रहेको छ ।

विभिन्न चरणमा हुने छनौट प्रक्रियालाई विधाअनुसार उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल नेपालको अभियानबारे जानकारी हुनुका साथै प्रविधिको क्षेत्रमा अध्ययन गर्ने बानी बसाल्ने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस प्रतियोगिताबाट आएका नयाँ पुस्ताको सोच र भावनालाई कदर गर्दै भोलिको समृद्ध डिजिटल नेपाल बनाउन सरकार र सरोकारवालालाई पनि ध्यानाकर्षण गराउने आयोजकको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया