Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्माणसम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

निर्माणसम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक


सिद्धार्थनगर ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो । उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माणसम्पन्न गर्ने गरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य सुरु गरे पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।

तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । सुरुवातमा एक अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई प्रमाणीकरण गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकमअनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो ।

उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौँ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दायाँबायाँ रहेका छन् । सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक निर्माण भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए । उनले भने, ‘तोकिएको समयभन्दा ११ महिना ढिला सम्पन्न भयो । तीनपटक भेरिएसन पनि भयो । एक वर्ष मेन्टिनेन्स पिरियड हुन्छ । छ महिना बितिसक्यो अब आगामी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’

निर्माण सम्पन्न भएको पाँच महिनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउँमा भत्केको छ । सडक भासिँदा र भत्किँदा द्रुतगतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जाँदै गरेका ट्याक्सी चालक रामनिवास चाईले लुम्बिनीगेट अगाडि भने, ‘बाटोको गुणस्तर कमजोर छ । बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाईजस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रुतगतिमा गाडी चलाउन नपाएको बताए ।

योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदण्डको विषयमा कन्सल्टेन्टको रिपोर्टअनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महिनादेखि म सडक निरीक्षण गर्न गएको छैन । तर, सडकको गुणस्तरको विषयमा केईसीसी र केडीईसी कन्सल्टेन्टले दिएको रिपोर्ट ठीक नै देखिन्छ ।’ निर्माणसम्पन्न भएको पाँच महिना नबित्दै भत्किने सडकको गुणस्तर करोडौँ खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिपोर्ट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।

यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्स्ट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौँ । चिन्तित छौँ । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौँ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगागिट्टी बालुवा तथा माटो पर्याप्त नपाउँदा काममा ढिलाइ भएको स्वीकार गरे । छ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेनसहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ ।

उक्त सडकखण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रुखको ठाउँमा ५१ सय रुख रोप्नुपर्ने भए पनि ती काम भने अझै पूरा भएका छैनन् । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया