Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग११ विधामा ‘आईसीटी अवार्ड’को अनलाइन नोमिनेसन सुरू

११ विधामा ‘आईसीटी अवार्ड’को अनलाइन नोमिनेसन सुरू


काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको छैटौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) मंगलबारदेखि सुरु भएको छ । लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आईसीटी अवार्ड २०२१’को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेसन खुला गरिएको हो ।

दोस्रो लहरको कोभिड संक्रमणदर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै यस अवार्डको अनलाइन नोमिनेसन खुला गरिएको आयोजकले जनाएको छ । यस वर्षको आईसीटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आईसीटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले आगामी साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अवार्डमा प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गरिदिन सकिनेछ । अवार्डमा नोमिनेसन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी तीन विधामा स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड दिइनेछ । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आईसीटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् । सन् २०१६ देखि सुरु भएको आईसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा तीन महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनेछ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा तीन चरणको छनौटपश्चात् उत्कृष्ट पाँच घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न चार चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ । आयोजक समितिका संयोजक राजन लम्सालले आईसीटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडि बढेको बताए । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

आईसीटी अवार्डको कुन विधामा कसले दिने आवेदन ?
स्टार्टअप आईसीटी अवार्ड : आईटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुनअनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत तीन वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । गत वर्ष यस विधामा क्रिप्टोजेन नेपाल प्रालि विजेता भएको थियो ।

प्रडक्ट आईसीटी अवार्ड : यस अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आईटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । २०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आईटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ । गत वर्ष सीपीएफडीएस एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम विजेता भएको थियो ।

राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड : यो अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्षमुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ । यस विधामा गत वर्ष सेन्ट जेभियर कलेजका विद्यार्थीको ‘सञ्चै छौ’ नामक प्रोजेक्टले अवार्ड प्राप्त गरेको थियो ।

पायोनियर आईसीटी अवार्ड : यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । गत वर्ष नीलकण्ठ उप्रेती यस अवार्डबाट सम्मानित भएका थिए ।

नेपाली डायस्पोरा आईसीटी अवार्ड : नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । गत वर्ष अमेजनमा कार्यरत नेपाली गौरवराज उपाध्यायले अवार्ड प्राप्त गरेका थिए ।

आन्टरप्रेनर आईसीटी अवार्ड : यो अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । गत वर्ष यस विधाबाट भायानेटका प्रबन्धनिर्देशक विनय बोहरा विजेता भएका थिए ।

वुमन आईकन आईसीटी अवार्ड : यो अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । गत वर्ष प्रा. तिमिला यमी थापा यस विधाबाट सम्मानित भएकी थिइन् ।

डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर) : शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई यो अवार्ड प्रदान गरिन्छ । गत वर्ष बूढानीलकण्ठ विद्यालयले यस विधाबाट अवार्ड प्राप्त गरेको थियो ।

डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइवेट सेक्टर): यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) विधा थपिएको छ । निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड (पब्लिक सेक्टर) : यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलीकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । गत वर्ष आन्तरिक राजस्व विभागले डिजिटल गभर्नेन्स आईसीटी अवार्ड प्राप्त गरेको थियो ।

डिजिटल सर्भिसेस आईसीटी अवार्ड (प्राइभेट सेक्टर) : यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आईटी तथा सफ्टवेयर कम्पनीहरूबाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । यसैगरी गत वर्ष कोभिड–१९ लाई लक्षित विधा एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड पाइला इमर्जेन्सी रेसुसिएटरले प्राप्त गरेको थियो । जुरी मेन्सन अवार्ड २०२० हाम्रो स्वास्थ्य र मिडिया पर्सन अवार्ड किरण आचार्यले प्राप्त गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया