Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा नयाँ नेक्सन विद्युतीय एसयूभी गाडीको बुकिङ चाँडै खुलाइने

नेपालमा नयाँ नेक्सन विद्युतीय एसयूभी गाडीको बुकिङ चाँडै खुलाइने


काठमाडौँ ।
सिप्रदी ट्रेडिङले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको छ । अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदूषणरहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस विद्युतीय गाडीको बनावट आकर्षक हुनुका साथै छरितो ढंगले द्रुतगतिमा हाँक्न सकिने खालको छ । लामो दूरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न मिल्ने सिप्रदीले जनाएको छ । सन् २०२० को जनवरीबाट भारतमा बिक्रीवितरण सुरु भएको यस गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ । आजको मितिसम्म यसले भारतीय विद्युतीय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीको दाबी छ ।

पछिल्लो समय नेपाल सरकारले तर्जुमा गरेको नीतिनियमले नेपाल विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न प्रतिबद्ध देखिन्छ । यसबाट प्रोत्साहित भएर टाटाले आफ्नो नयाँ कार छिट्टै नेपालमा ल्याउनलागेको जनाएको हो । टाटा मोटर्सले नेपालमा विद्युतीय सवारीसाधनको प्रभावकारी सञ्चालनका लागि एक पूर्ण इकोसिस्टमको विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङलगायतका सुविधाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डीले नयाँ नेक्सन इभी गाडीले कम खर्चमा नेपाललाई हरित प्रविधिको अंगीकार गर्न पनि मद्दत गर्ने बताए । वातावरणमैत्री यस गाडीमा यात्रुको सुविधाजनक यात्रा र सुरक्षालाई विशेष ध्यान दिई तयार पारिएको उनले जानकारी दिए । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले वातावरणमैत्री, अत्याधुनिक सुविधासम्पन्न र आरामदायी नेक्सन इलेक्ट्रिक एसयूभी गाडीले नेपालमा विद्युतीय सवारीसाधनको बजारको विकास र विस्तारमा अग्रणी भूमिका खेल्ने बताए ।

‘इम्प्याक्ट डिजाइन२.०’ अवधारणाअन्तर्गत तयार पारिएको यसको बनावट अरुभन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि विशेष व्यवस्था पनि छ । यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ । सात इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार जिप्पी प्रविधिले नेक्सनको कार्यक्षमता उत्कृष्ट बनाएको छ । ३०.२ किलोवाटको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्छ । ड्राइभ र स्पोर्ट्स गरी दुई ड्राइभ मोड भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

एकपटक चार्ज गरेपछि यस गाडीले विना कुनै झन्झट दुई सयदेखि दुई सय ५० किलोमिटरको दूरी तय गर्नसक्ने कम्पनीको दाबी छ । यदि डीसी चार्जर प्रयोग गरियो भने नेक्सन ईभीको ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिने पनि कम्पनीको भनाइ छ । नेक्सन ईभी ग्लोबल एनक्याप रेटिङ्ग अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परीक्षण १० लाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतीपूर्ण बाटोहरुमा सफलतापूर्वक भइसकेको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया