Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय कार निशान लिफको बुकिङ खुल्ला

विद्युतीय कार निशान लिफको बुकिङ खुल्ला


काठमाडौं ।
निशान कम्पनीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा विद्युतीय सवारीसाधन लिफ ईभी उपलब्ध गराएको छ । जेरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारीसाधन) निशानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारीसाधन हो ।

निर्माता कम्पनीको उद्देश्य समाजमा सवारीसाधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारीसाधन उपभोक्तासमक्ष पु-याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।

निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकका अनुसार, विद्युतीय सवारीसाधनको सेग्मेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निशानले नेपालमा दोस्रो जेनेरेसनको निशान लिफ सार्वजनिक गरेको हो । निशानको ’निशान इन्टेलिजेन्ट मोबिलिटी’अन्तर्गत ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नेछन् ।

लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रालिका प्रबन्धनिर्देशक सन्दिप कुमार सारडाले इलेक्ट्रिक भेहिकलका विशेषताहरु र उपयोगिताबारे ग्राहकहरुलाई जानकारी गराउनुका साथै अब विश्वको भविष्य नै इलेक्ट्रिक भेहिकल भएको बताए ।

उनका अनुसार शून्य प्रदूषणसहितको उपयुक्त प्रविधिमा आधारित यो सवारीसाधन चालकदेखि यात्रुलाई समेत सुविधासम्पन्न र आरामदायी छ । निशान लिफ ईभीले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधासम्पन्न यात्रा गर्न थप सहजीकरण गर्ने पनि उनले उल्लेख गरे ।

कम्पनीका अनुसार यसको इन्टेलिजेन्ट पावरअन्तर्गत यसमा ४० किलोवाट हावरको ब्याट्री जडान गरिएको छ । यसलाई एकपल्ट चार्ज गर्दा तीन सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघण्टा १४० किलोमिटर छ ।

ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निशानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । इन्टेलिजेन्ट ड्राइभिङअन्तर्गत निशान लिफको इ–पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निशान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ, जसमा छवटा सिङ्गल–टोन कलर रहेको छ भने पाँचवटा डुअल–टोन कलर रहेको छ । निशान लिफ ईभीबाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ । निशान लिफको ब्याट्रीमा कम्पनीले आठ वर्ष अथवा एक लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया