Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुप नेटवर्क पब्लिक कम्पनीमा रूपान्तरण, २ वर्षभित्र आईपीओ जारी गर्ने

लुप नेटवर्क पब्लिक कम्पनीमा रूपान्तरण, २ वर्षभित्र आईपीओ जारी गर्ने


काठमाडौं । विगत पाँच वर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी कम्तीमा एक अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि बढाएको छ । कम्पनीले यस्तो लगानी पाँच वर्षभित्र गरिसक्ने बताएको छ ।

कम्पनीका अध्यक्ष सतिश पोखरेलले आक्रामक बजार विस्तारको रणनीति लिएकोले आउँदो पाँच वर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने बताए । अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच वर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पु-याउने लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौंसहित नवलपरासी, धनुषालगायतका स्थापनामा विस्तार भएको छ । यी जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति छ भने पूर्वमा विस्तार हुने क्रममा छ ।

लुम्बिनी प्रदेशको बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ । सहरभन्दा ग्रामीण क्षेत्रमा बढी सेवा दिइरहेकोले अब सहर र ग्रामीण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।

इन्टरनेट सेवासँगै नेट टिभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ । त्यो नहुँदासम्म नेट टिभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवा दिने कम्पनीले जनाएको छ । अझै पनि फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच झण्डै ८०–८५ प्रतिशत विस्तार हुन बाँकी रहेकाले बजार विस्तार गरी नम्बर १ हुन लुप नेटवर्कलाई समस्या नपर्ने कम्पनीको दाबी छ ।

सहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भए पनि राम्रो सेवा प्रतिस्पर्धी मूल्यमा दिने हो भने बजार विस्तारमा समस्या नहुने कम्पनीको भनाइ छ । नयाँ ढंगले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले ह्वावे, जेटटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्नलागेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया