Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘कोरोनाको पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गरौँ’

‘कोरोनाको पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गरौँ’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई बढ्न नदिन सरकार, निजी क्षेत्र र आमसर्वसाधारण मिलेर कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने बताएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको पहिलो लहर र दोस्रो लहरले नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको भन्दै चेम्बरले पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गर्न सबैसँग आग्रह गरेको हो ।

चेम्बरले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोभिड नियन्त्रणको लागि निषेध गरिएका क्रियाकलापहरु सभा सम्मेलन, धर्ना जुलुस, गोष्ठी -यालीजस्ता गतिविधिमा संलग्न हुने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्ने, तोकिएको स्वास्थ्यको मापदण्डको परिपालना नगर्ने र मास्कको उचित प्रयोग नगर्नेहरुलाई कडाइका साथ कारबाही गर्न माग गरेको छ ।

कोभिड महामारी नियन्त्रणको विकल्प लकडाउन मात्रै नभएको भन्दै चेम्बरले लकडाउनको विकल्पको रुपमा सरकारले निषेध गरेका क्रियाकलापहरुलाई कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । साथै नेपालको समस्त उद्योग व्यवसाय क्षेत्रलाइ संरक्षण गर्न यसमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई पूर्ण खोपको व्यवस्था गरी व्यावसायिक क्रियाकलापलाई तोकिएको मापदण्डभित्र रही निर्बाध रुपमा आफ्नो गतिविधि सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था गर्न पनि चेम्बरले सरकारसँग आग्रह गरेको छ ।

अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले नै भोग्नुपर्ने तथ्यलाई हालैको कोभिड महामारीबाट मात्र नभई विगतका अनुभवबाट पनि पुष्टि भइसकेको चेम्बरको भनाइ छ । खुला बजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने चेम्बरले जनाएको छ । निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्न जाने चेम्बरको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया