Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सका जहाजमा आकस्मिक उपचार मेसिन

हिमालय एयरलाइन्सका जहाजमा आकस्मिक उपचार मेसिन


काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाजहरु (तीनवटा एयरबस ३२० र एउटा एयरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखेको छ । उक्त जीवनदायी मेसिन राखिएपश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा अब उप्रान्त निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुने निश्चित भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ । यस कार्यपश्चात् हिमालय एयरलाइन्स जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एयरलाइन्स कम्पनी भएको छ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्यआकाशमा जहाज उडिरहँदा भवितव्यवश यदि कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेको व्यक्तिलाई बचाउने कार्य गर्दछ । यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वासप्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वासप्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मेसिनको प्रयोगबारे यथेष्ट तालिम समेत दिएर दक्ष र निपूर्ण पारिएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ । तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयाघात, मुटु–फोक्सो असफल हुने समस्या जस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम उपचार समेत गर्न सकिने हुँदा मध्यआकाशमा समेत बिरामीको ज्यान बचाउन सकिने कम्पनीले जनाएको छ । उडानरत जहाजमा यस्ता मसिनको अभावमा कथंकदाचित् कुनै यात्रुको हृदयगति बन्द हुने समस्या आइपरेमा बिरामीको उपचारको खातिर जहाज फर्काउनुपर्ने हुनसक्छ र उपचारमा आशातित सफलता प्राप्त नहुन पनि सक्छ । एयरलाइन्सले यस्ता मसिनहरु आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीहरुलाई समेत सो डफिब्रिलेटरको प्रयोगबारे बृहत् तालिम दिएको छ ।

आफ्ना जहाजहरुका साथै कार्यालयहरुमा समेत यस्ता मेसिनहरु राख्नु हिमालय एयरलाइन्सको सुरक्षित यात्रालाई निरन्तर प्रवद्र्धन गर्ने बृहत् प्रयासको एक हिस्सा भएको कम्पनीको भनाइ छ । मध्यआकाशमा उडिरहँदा आकास्मिक रुपमा यदि कुनै यात्रुको हृदयगति बन्द हुन पुगेमा सफलतम उपचार प्राप्त गर्न सक्ने खबर वास्तवमै हिमालय एयरलाइन्सका सबै यात्रुहरुका लागि सुखद र प्रेरणादायी हुन सक्नेछ भन्ने आशा एयरलाइन्सले लिएको छ । एयरलाइन्सका सबै उडान कर्मचारीहरुको पहुँचमा उक्त सेवा रहेको र यात्रुहरुको सेवाका लागि उनीहरु सबल र सक्षम रहेका पनि बताइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया