Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

आस्क मीको अनलाइन जब फेयर मोबाइलबाटै जागिर खोज्न सकिने
काठमाडौं, माघ १३
आस्क मी म्यानेजमेन्टले नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । बुधबार र बिहीबार दुई दिनसम्म जब फेयर सञ्चालन हुने आयोजकले बताएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो ।

कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरी अनलाइन जबफेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ । नेपालमै पहिलो पटक हुनलागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसी–बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन् । उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टल आस्कमी कन्सल्ट डटकममा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेसन दिन सकिन्छ ।

‘कर्मचारी भर्ना गर्ने कम्पनीले आफूले चाहेजस्तो कर्मचारी जब फेयरबाट लिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हुनेमा हामी विश्वस्त छौं’, क्षेत्रीले भनिन् । क्षेत्रीका अनुसार यो नेपालको लागि बिल्कुलै नयाँ कन्सेप्ट हो । जब फेयरमा ५० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने छन् भने कम्तीमा १ लाख जब सिकरहरुले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ । नेपाल मात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।

कुनै पनि कम्पनीले यो फेयरमा अनलाइन स्टल राख्न चाहेमा आस्कमी कन्सल्ट डटकममा जानुपर्नेछ भने जब खोज्नेहरुले आफूलाई पायक पर्ने स्थान र उपयुक्त जागिरमा आवेदन गर्न सक्छन् । यसरी प्राप्त आवेदन आस्क मीको सफ्टवेयरमार्फत सिधै सम्बन्धित कम्पनीमा पुग्नेछ भने कम्पनीहरुले आफूले खोजेको तथा योग्यता पुगेका आवेदकहरुलाई फोन गरेर अन्तर्वार्ताका लागि बोलाउने छन् । जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्कमी कन्सल्ट डटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर एकाउण्ट बनाउनुपर्ने हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेज साथ रहेको छ । माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, इ–सेवा, फोन पे, लोन प्लस डिपोजिट डट कम जस्ता कम्पनीहरुले पनि सहकार्य गरेका छन् । रोजगारीका लागि पुलको काम गर्दै आएको आस्कमीले अनलाइन माध्यमबाट पनि पुलको काम गर्न लागेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया