Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड’का दुई विधामा पुरस्कृत

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड’का दुई विधामा पुरस्कृत


काठमाडौँ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ । जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन् ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु-याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।

साथै, एनसेल ‘वर्ल्ड कम्युनिकेसन्स अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

‘मस्ट सोसिएल्ली रेस्पन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भने, ‘एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायहरूमा पु-याएको महत्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौँ । शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पु-याउन हामीले विभिन्न सामाजिक परियोजनामा एक अर्ब ४० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेका छौँ ।’ सामाजिक योगदानका बारेमा थप स्पष्ट पार्दै उनले थपे, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु । उहाँहरुको कडा मिहिनेत र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सही कामहरूमा मात्र केन्द्रित हुने चोङको कार्यशैलीको नतिजाअनुरूप एनसेलले सामाजिक योगदानको मामिलामा उदाहरणीय काम गर्न सफल भएको छ । एनसेलले सच्चा कर्पोरेट नागरिकको रूपमा सामाजिक जिम्मेवारीहरू निभाउँदै समाजको समग्र विकासका लागि योगदान पु-याइरहेको छ । दूरसञ्चार, आईटी/टेक्नोलोजी र इलेक्ट्रोनिक्स जस्ता विभिन्न क्षेत्रहरुमा ३० वर्षभन्दा बढी व्यवस्थापन र सञ्चालन क्षेत्रको अनुभव बटुलेका चोङ एक दूरदर्शी तथा रणनीतिक नेतृत्वकर्ता हुन् । कोभिड–१९ महामारीको जोखिमका बीच पनि उनको प्राथमिकता आफ्ना ग्राहक, पार्टनर र कर्मचारीहरुको स्वास्थ्य सुनिश्चितता र सरकारलाई यस महामारीमा सहयोग गर्नेमा रहेको छ ।

‘टेलिकम सीईओ अफ दि इयर’को सम्मानले एनसेलमा चोङले सहानुभूतिपूर्ण र संगठनात्मक संस्कृति निर्माणमा निभाएको नेतृत्वदायी भूमिकालाई झल्काउँछ । कम्पनीको स्पष्ट लक्ष्य राख्दै उनले कर्मचारीहरूलाई प्रेरणा प्रदान गरिरहन्छन् र उद्देश्य प्राप्तिका लागि कसरी अगाडि बढ्ने भनेर मार्गदर्शन गर्छन् । चोङको नेतृत्वमा एनसेलको प्रमुख प्राथमिकता डिजिटाइजेसन रहँदै आएको छ । कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवाप्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ । ग्राहकमाझ उच्चस्तरीय तथा नवीन सेवाहरू ल्याउने प्रतिबद्धताअनुरुप चोङले कम्पनीलाई भीओएलटीई सक्षम बनाएका छन् । साथै उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको छ ।

चोङले एनसेलका कर्मचारीको क्षमता अभिवृद्धि तथा विकासलाई प्राथमिकतामा राख्दै आएका छन् । यसका लागि उनले आजियाटा ग्रुपसँगको समन्वयमा कर्मचारीको कुशलतामा निखार ल्याउन व्यवस्थित र बृहत् कार्यक्रमहरूमा जोड दिएका छन् । त्यसैगरी उनले आजियाटा ग्रुपसँगको समन्वयमा कम्पनीका विशेष क्षेत्रमा ‘बेस्ट प्राक्टिसेस’ अर्थात् राम्रा अभ्यास लागू गर्न सहयोग पु-याएका छन् । यस्ता अभ्यासहरु लागू गर्दा आजियटा गु्रप र एनसेलका सम्बन्धित टिम मिलेर कम्पनीको लागि के गर्दा राम्रो हुन्छ भनेर सामूहिक रुपमा निचोड निकालिन्छ ।

चोङसँग मलेसिया, सिंगापुर र इन्डोनेसियामा सीईओका साथै सेल्स एन्ड मार्केटिङ, टेक्निकल एन्ड अपरेसन्स र फाइनान्सका क्षेत्रमा शीर्ष व्यवस्थापन पदहरूमा रही काम गरेको लामो अनुभव छ । सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गरेका थिए । सन् २०१६ मा उनी अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलसँग आबद्ध भएका थिए । उनले २०१९ नोभेम्बरदेखि सीईओ/प्रबन्धनिर्देशकको भूमिकामा कार्यभार सम्हाल्दै आएका छन् । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया