Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएफवानसफ्ट आईसीटी अवार्डमा उत्कृष्ट ५ को घोषणा

एफवानसफ्ट आईसीटी अवार्डमा उत्कृष्ट ५ को घोषणा


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ । छैटौं संस्करणको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ को छनौट प्रक्रियाअन्तर्गत विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रियामार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

ह्वावे स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२१ विधामा गत शनिबार आयोजना भएको प्रिजेन्टेसन एण्ड स्पिड डेटिङ सेसनमार्फत उत्कृष्ट ५ को छनौट गरिएको हो । छनौटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि सुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागी हुनुपर्नेछ ।

यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आईसीटी अवार्ड विधा पनि खुल्ला गरिएको छ । जुरीको छनौट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ । छनौट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रालि, हाउस अफ बुक्स प्रालि, खेती भेन्चर प्रालि, निर्वाण साथी टेक्नोभेसन प्रालि र पु¥याउ सर्भिसेस प्रालि रहेका छन् । स्टार्टअप आईसीटी अवार्ड २०२१ विधामा ५० बढी आईसीटी स्टार्टअप कम्पनीहरूको नोमिनेसन प्राप्त भएको थियो । विभिन्न तीन चरणको छनौटपश्चात् उत्कृष्ट ५ छनौट गरिएको आयोजकले जनाएको छ ।

प्रडक्ट आईसीटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरुमा बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् । यस विधामा ४० बढी आईसीटी प्रडक्टहरूको नोमिनेसन प्राप्त भएको र तीन चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।

राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेसन प्राप्त भएको थियो । यी तीन विधाबाहेक अवार्डमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड गरी चार विधा व्यक्तिको लागि समावेश गरिएको छ ।

यसैगरी डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आईसीटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र निजी क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेसनपश्चात् छनौट जारी रहेको छ । एफवान सफ्ट आईसीटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाई ह्वावे २०२१ का लागि विभिन्न ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ । अन्य आठ विधामा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ ।

सर्वोत्कृष्ट छनौटका लागि १२ जना जुरी र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । आईसीटी अवार्ड नेपालको डिजिटल इकोसिस्टमको विकासमा एक महत्वपूर्ण प्रयास भएको हुँदा यसमा यस क्षेत्रका सबै व्यक्ति, संस्था र नवप्रवर्तकहरूको आआफ्नो पक्षबाट सहयोग, सहकार्य र सहभागिता रहेको लम्सालले बताए ।

सन् २०१६ देखि सुरु भएको आईसीटी अवार्डमा प्रविधि क्षेत्रमा क्रियाशील व्यक्ति, संस्था, इन्नोभेसन र स्टार्टअपहरूको प्रवद्र्धन लागि एक महत्वपूर्ण प्लाटफर्मको रूपमा विकास भएको सहभागी बताउँछन् । आईसीटी अवार्डको छनौट प्रक्रिया अन्तर्गत नै स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन, फिल्ड भिजिट, पब्लिक भोटिङ लगायतका प्रक्रियाहरू आयोजना गर्ने गरिन्छ ।

छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनु नै आईसीटी अवार्डको महत्वपूर्ण उपलब्धि रहेको सल्लाहकार प्राडा. सुवर्ण शाक्य बताउँछन् । आईसीटी अवार्डले इन्नोभेसन, स्टार्टअप र आइडियालाई उद्यमशीलतासँग जोडेर अघि बढाइरहेको कारणले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले बताए ।

यस वर्ष आईसीटी अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विना धितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर, ह्वावे, एनसेल, नेपाल टेलिकम, इसेवा, डिसहोमलगायतका संस्थाहरूबाट महत्वपूर्ण सहयोग रहनेछ । आईसीटी अवार्ड २०२१ मा एफवानसफ्ट शीर्ष प्रायोजक रहेको छ भने जिनस इन एसोसिएसन विथ, ह्वावे पावर्ड वाई स्पोन्सर रहेका छन । यसैगरी राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर, एनसेल क्याटेगोरी स्पोन्सर रहेको छ ।

अवार्ड कार्यक्रममा एनटीए, नाष्ट, एनआईटीसी, प्रेसिडेन्सियल बिजनेस स्कुल, ई–सेवा, इमिनेन्स वेइज, अपग्राड, डिस होम, एनएमबी बैंक, हाम्रो पात्रो, टेक्नोरियो लगायतका संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ । आईसीटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ अर्थात् पुस २ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया