Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुतीको उत्पादनमा रोक

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुतीको उत्पादनमा रोक


काठमाडौं । लामो समयदेखि सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्टले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको छ । आकर्षक विज्ञापन गर्दै सिमेन्ट बिक्री गर्ने मारुतीले नेपाली उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरी ठगी गर्दै आएकोले उक्त कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्न समेत नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

गुणस्तरहीन प्रमाणित भएपछि मारुतीले उत्पादन गर्ने ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन बन्द गरी बिक्रीको लागि बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको छ । गुणस्तर विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको उक्त कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट गुणस्तरहीन भएकाले प्रयोग नगर्न उपभोक्ताहरुलाई आग्रह गरेको हो ।

विभागद्वारा संकलित नमूनाको एमपीए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । विभागका अनुसार उपभोक्तालाई ठगी गर्न उक्त कम्पनीले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको देखिएको छ ।

सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाहीको दायरामा ल्याएको पनि विभागले जनाएको छ । विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाको लागि बन्द गरिदिने चेतावनी पनि दिएको छ ।

विभागले धनुषाको जानकी केवल ई. प्रालिले वितरण गर्दै आएको पीभीसी केवल बिक्रीवितरण रोक्न र हालै वितरण गरिएका केवल फिर्ता लिन र बाराको श्री ग्यास वान प्रालिलाई पनि वितरण गरिएका सबै ग्यास फिर्ता लिन पनि निर्देशन दिएको छ साथै तत्कालै उत्पादन बन्द गरी १५ दिनभित्र दुवै कम्पनीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

श्री ग्यास वानले बोटलिङ गरी बजारमा पठाएको ग्यासमा क्याप नलगाएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको, सीभीटी मेसिन प्रयोग नभएको, एचएसटी मेसिन प्रयोग गर्नुपर्नेमा सोको प्रयोग नभएको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भ समेत मर्मत नगरेको विभागले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया