Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड


काठमाडौं । एनसेल आजियटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए ।

वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ इन्डष्ट्री अर्गनाइजेसन (एसोसीओ)मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ । विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो । त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघ/संस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम धुलिखेल अस्पतालअन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरिसकिएको छ ।

यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् । टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिएको चारवटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थानसिङ र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ ।

टेलिमेडिसिनअन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ । पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्यसम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार स्थानीय ठाउँमा नै गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया