Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमनकामना केबलकार २४औँ वर्षमा

मनकामना केबलकार २४औँ वर्षमा


काठमाडौं । मनकामना केबलबार २३औँ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । चितवनको ई–समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केबलकारको सञ्चालन बुधबारबाट २४औँ वर्षमा प्रवेश गरेको हो । केबलकारको सञ्चालन २०५५ मंसिर ८ गतेबाट सुरु भएको थियो । केबलकारले सञ्चालनदेखि हालसम्म करिब एक करोड ६० लाख यात्रु तथा भक्तजनहरुलाई स्तरीय सेवा प्रदान गरिसकेको छ ।

कम्पनीका अनुसार केबलकार सञ्चालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य हुन गएको छ । यस सेवापश्चात् सो क्षेत्रमा उल्लेखनीय विकास भई विश्वसामु समेत मनकामनाको ख्याति प्रचारप्रसार भएको कम्पनीको दाबी छ । कम्पनीले विश्वविख्यात अस्ट्रियाको डोपलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित केबलकारबाट सेवा दिँदै आएको छ ।

साथै कम्पनीले केबलकारको स्तरोन्नति चालू आर्थिक वर्षबाट सुरु गर्ने पनि जनाएको छ । हाल जडान गरिएका प्रविधिहरु पुरानो हुँदै गएकोले नयाँ तथा स्तरीय प्रविधि जडान गर्न लागिएको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा (डि–कनेक्ट) तीन चरणमा स्तरोन्नति गरिनेछ । स्तरोन्नति कार्य सकभर लो सिजनमा गरिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

साथै चरणबद्ध तरिकाले स्तरोन्नतिको काम गरिने हुँदा केबलकार नियमित रुपमा संचालनमा आउनेछ । स्तरोन्नतिको काम २०८० सालको भदौ महिनासम्म सकिने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीका अनुसार स्तरोन्नतीमा डी÷सी ड्राइभ सिस्टमलाई ए÷सी ड्राइभमा, कन्ट्रोल सिस्टमलाई एनालगबाट डिजिटल सिस्टममा परिणत गरिनुका साथै केबलकार लठ्ठा, कम्युनिकेसन केबल, केबलकारको ग्रिपजस्ता महत्वपूर्ण सामान फेरी स्तरोन्नति गरिनेछ । भवन, टावरहरु, बुलह्विल, गोन्डोलाहरु भने साबिककै रहनेछन् । यसरी स्तरोन्नति भएपछि डि–कनेक्ट सिस्टममा सञ्चालन हुने नेपालकै पहिलो केबलकार हुने बताइएको छ । स्तरोन्नति गर्न करिब ३० करोड लागत लाग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ ।

मनकामनामा स्तरीय रिसोर्ट : यस्तै कम्पनीले आगामी फागुनदेखि मनकामनामा स्तरीय रिसोर्ट निर्माण सुरु गर्ने भएको छ । मनकामनाको भ्रातृ संस्था रिसोर्ट बाई मनकामना केबलकार प्रालिले केबलकार टप स्टेसनसँगै करिब नौ रोपनी क्षेत्रफलमा ४० कोठाको सुविधायुक्त रिसोर्टको निर्माण समेत गर्न लागेको हो । उक्त रिसोर्ट करिब डेढ वर्षमा कार्यसम्पन्न गरिने लक्ष्य रहेको कम्पनीको भनाइ छ । साथै रिसोर्टमा स्तरीय रेष्टुरेन्ट साथै १०० सिट क्षमताको कम्फरेन्स हल रहने बताइएको छ । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार रिसोर्टको कुल परियोजना लागत ३५ करोड १८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया